+

फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ?

७ वर्षदेखि मात्र स्कुल

फिनल्यान्डमा औपचारिक शिक्षा ७ वर्षको उमेरबाट मात्र सुरु हुन्छ । यद्यपि, त्यसअघि बालबालिकालाई प्रारम्भिक बाल्यकाल शिक्षामा सहभागी गराइन्छ । यस चरणमा उनीहरूलाई खेल, मनोरञ्जनबाट अन्तर्क्रियात्मक सहभागिताको अभ्यास गराइन्छ ।

बालबालिकालाई पढ्न र लेख्न दबाब दिइँदैन । बरु रचनात्मक खेलकुदमा प्रेरित गरिन्छ । यहाँको मान्यता के छ भने बालबालिकाले स्वच्छन्द खेल्न पाउनुपर्छ ।

Advertisement

विद्यार्थी फेल हुँदैनन्

आधारभूत शिक्षा ७ देखि १६ वर्षसम्मका बालबालिकाहरूका लागि अनिवार्य हुन्छ । यहाँको उल्लेखनीय पक्ष भनेको कुनै पनि विद्यार्थीले कक्षा दोहोर्‍याउनु पर्दैन । किनकी सिकाइलाई व्यक्तिगत रुपमा समायोजन गरिन्छ । यदि कुनै विद्यार्थीलाई कठिनाइ भयो भने उनीहरूलाई विशेष सहयोग प्रदान गरिन्छ ।

कक्षाकोठामा थोरै विद्यार्थी

फिनल्यान्डमा कक्षा कोठाहरू सामान्यत साना हुन्छन्, जहाँ १५–२० जना विद्यार्थी हुन्छन् । यसले गर्दा शिक्षकलाई प्रत्येक विद्यार्थीको आवश्यकता ख्याल गर्न सजिलो हुन्छ ।

गृहकार्य र परीक्षा हुँदैन

नेपालमा जस्तो विद्यार्थीलाई गृहकार्यको बोझ बोकाइँदैन । साथै बारम्बार वा वर्षैपिच्छे परीक्षा लिने गरिँदैन । बालबालिकाहरू १६ वर्षको उमेर पुगेपछि एकै पटक उनीहरूलाई राष्ट्रिय परीक्षामा सहभागी गराइन्छ । यो भनेको माध्यामिक शिक्षाको अन्तिम वर्ष हो ।

घोकाउने होइन अनुभवमा आधारित सिकाइ

हामीकहाँ जस्तो फिनल्यान्डमा पाठ घोकाउने प्रवृत्ति छैन । त्यहाँ व्यवहारिक र अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिइन्छ । उनीहरूको रुचि, क्षमता अनुसार सहज र सरल भाषामा कुनै पनि कुरा सिकाउने गरिन्छ ।

सीप सिक्ने कि पढ्ने ?

१६ वर्षको उमेरमा आधारभूत शिक्षा पूरा गरेपछि उनीहरूलाई सामान्य माध्यामिक शिक्षा पढ्ने वा व्यवसायिक शिक्षा लिने ? छनौट गर्न दिइन्छ । व्यवसायिक शिक्षा अन्तर्गत उनीहरूले कुनै पनि सीपमूलक शिक्षा आर्जन गर्न सक्छन् ।

निःशुल्क शिक्षा

फिनल्यान्डमा पठनपाठनका लागि अभिभावकले ढाड सेक्ने गरी खर्च जुटाउनु पर्दैन । त्यहाँ भर्ना, पाठ्यपुस्तक, वार्षिक शुल्क जस्ता अनेक नाममा शुल्क उठाइँदैन । बरु प्राथमिक तहदेखि स्नातकोत्तरसम्म निःशुल्क पढ्न पाउँछन् ।

सार्वजनिक स्कुलमा गुणस्तरीय शिक्षा

फिनल्यान्डमा हामीकहाँ जस्तो निजी शिक्षाको हालीमुहाली छैन । त्यहाँ निजी शिक्षा पनि सरकारी नियन्त्रणमा हुन्छन् र सार्वजनिक विद्यालयबाट नै गुणस्तरीय शिक्षा प्रदान गरिन्छ।

खेलकुद र बाहिरी गतिविधिमा जोड

फिनल्यान्डमा खेल र बाहिरी गतिविधिलाई सिकाइको महत्वपूर्ण हिस्सा मानिन्छ । विद्यार्थीलाई कक्षाभित्र भन्दा कक्षा बाहिर बढी बिताउन प्रोत्साहित गरिन्छ ।

लचिलो पाठ्यक्रम

फिनल्याण्डको पाठ्यक्रम लचिलो छ । त्यहाँ शिक्षकहरूले स्थानीय आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्न सक्छन् । यसले गर्दा शिक्षालाई सान्दर्भिक र विद्यार्थी केन्द्रित बनाउन सकिन्छ ।