+

नाइट क्लबमा हुडीको टोपी लगाएर जान किन मिल्दैन ?

नाइट क्लब भन्नेबित्तिकै धेरैको दिमागमा झिलिमिली बत्ती, चर्को संगीत र रमाइलोको दृश्य आउने गर्छ । एक हदसम्म रमाइलो गर्ने स्वतन्त्रता पनि त्यहाँ हुन्छ । तर, धेरै जना क्लबको गेटमा पुग्दा एउटा अप्रत्याशित अवरोधको सामना गर्न पुग्छन् । त्यो हो ड्रेस कोड ।

विशेष गरी हुडीको टोपी (हुड) जस्ता लुगा लगाएर आउनेलाई बाउन्सरहरूले भित्र छिर्न अनुमति दिँदैनन् । कतिपयलाई यो नियम व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेपजस्तो लाग्न सक्छ । किन यस्तो नियम ?

Advertisement

१. सीसीटीभीमा अनुहारको पहिचान

नाइट क्लबहरूमा भीडभाड हुन्छ । कुनै पनि अप्रिय घटना, जस्तै कुटपिट, चोरी वा यौन दुर्व्यवहार हुनसक्ने उच्च जोखिम रहन्छ । यदि कसैले हुडीको टोपी लगाएका छन् भने क्लबमा जडान गरिएका सीसीटीभी क्यामेराले उसको अनुहार स्पष्ट रूपमा कैद गर्न नसक्ने भएकोले अनुहार स्पष्ट देखिनु अनिवार्य हुन्छ ।

२. प्रतिबन्धित वस्तुहरूको ओसारपसार

हुडीमा ठूला गोजीहरू हुन्छन् । प्रायः ओभरसाइज अर्थात् खुकुलो पनि हुन्छ, जसमा लागुऔषध वा बाहिरबाट ल्याइएका पेय पदार्थ, साना चक्कु, ब्लेड वा अन्य धारिलो हतियार अथवा चोरीका सामान लुकाउन सकिने भएकोले सुरक्षाकर्मीहरूले सुरक्षा जाँच गर्दा हुडी लगाएकाहरूमाथि बढी शंका गर्छन् ।

३. ’ग्याङ कल्चर’ र झै-झगडाको डर

कतिपय अवस्थामा टोपीले अनुहार छोपेर आउने व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर झगडा गर्ने मनसाय राखेका हुन सक्छन् भन्ने क्लब सञ्चालकहरूको बुझाइ हुन्छ । अन्य ग्राहकहरूले पनि यस्तो टोपी लगाएर बसेका व्यक्तिहरूलाई देख्दा असुरक्षित महसुस गर्न सक्छन् । क्लबको वातावरणलाई मित्रवत र सुरक्षित बनाउन ‘क्लिन लुक’लाई बढावा दिइन्छ।

४. ब्रान्डिङ र लक्जरी

केही क्लबहरू आफूलाई ‘लक्जरी’ वा ‘प्रिमियम’ मान्छन् । तर, हुडीलाई सामान्यतया ‘क्याजुअल’ वा घरमा बस्दा लगाउने लुगाको रूपमा लिइन्छ । क्लबहरूले आफ्ना ग्राहकहरूले अलि राम्रो, सुकिलो र ‘स्मार्ट’ लुगा (जस्तै: सर्ट, ब्लेजर वा टिसर्ट) लगाएर आऊन् भन्ने चाहन्छन् । यसले क्लबको भाइबलाई लक्जरी देखाउन मद्दत गर्छ ।