+

हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ?

हृदयघातअघि हाम्रो शरीरले केही लक्षण देखाउँछ । खासगरी छातीको मध्यभागमा निकै दबाब महसुस हुन्छ । शरीरमा अचानक पसिना आउँछ । वाकवाकी लाग्छ । चक्कर लागेजस्तो हुन्छ । छाती दुख्छ । ग्यास्ट्रिक हुने, छातीमा भारीपन हुने, अहसज महसुस हुने गर्छ ।

दीर्घरोग नभएका कम उमेरकै व्यक्तिलाई हृदयघातको जोखिम कम हुन्छ । तर हृदयघात नै हुँदैन भनेर ठोकुवा गर्न सकिंदैन । यदि उनीहरु अत्यधिक धुमपान गर्छन्, परिवारमा कसैको हृदयघात भएको छ भने उनीहरु पनि जोखिम वर्गमै पर्छन् ।

Advertisement

यदि उनीहरुलाई हृदयघात हुँदैछ भने त्यसअघि शरीरमा केही संकेत देखिन्छ । जस्तो कि छाती फुल्ने, स्वाँस्वाँ हुने, चक्कर लाग्ने, असहज हुने ।

कस्ता व्यक्तिलाई बढी हृदयघातको जोखिम ?

प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ । हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ ।

अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत्तिकै बढी हुन्छ । दीर्घरोग नभएका व्यक्ति जसको परिवारमा कसैलाई पहिला नै मुटुरोग छ भने पनि त्यो परिवारको सदस्यमा यसको जटिलता थपिन सक्छ ।

त्यस्तै, महिलाहरुमा रजोनिवृत्ति पछि मात्रै हृदयघातको जोखिम बढी देखिने सम्भावना हुन्छ । महिनावारी सुकिसकेपछि महिलामा पनि पुरुषमा जतिकै हृदयघातको जोखिम हुन्छ ।

महिनावारीको बेला हर्मोनकोे परिवर्तन भइरहने हुँदा कुनै रोग छैन भने महिलालाई हुँदैन । जब महिनावारी सुक्छ तब भने पुरुषको जस्तै जोखिम हुने गर्छ ।

हृदयघात भएमा के गर्ने त ?

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्वसचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ ।

यदि तपाईं उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी हुनुहुन्छ भने धेरै सतर्क हुनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नसाथ यो औषधि चपाउनुपर्छ ।

हृदयघातको शंका लाग्नासाथ आराम गर्नुपर्छ । हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ । र, तत्काल अस्पताल लानु पर्छ ।

खासगरी मुटुको कुन भागको नसामा अवरोध भयो र त्यसले मुटुको कति भागलाई असर गरेको छ भन्ने कुराले यसमा निर्भर गर्छ । यदि अवरोध पुगेको नसा खोल्न सकेमा ज्यान बच्छ ।