+

छिनमै गरेको कुरा बिर्सिने समस्या ‘ब्रेन फग’ के हो ?

भर्खरै गरेका कुराहरू बिर्सिने, कुनै कुरामा ध्यान लगाउन खोज्दा पटक्कै नलाग्ने, दिमागमा भार परेको जस्तो भइरहने समस्या हुन्छ ? यस्तो लक्षणलाई अहिले विज्ञानले नयाँ नाम दिएको छ, ब्रेन फग ।

यो समस्यालाई दिमागी थकान पनि भन्ने गरिन्छ । यो समस्या अस्थाइ हुन्छ । तर, त्यो समयमा बढ्दै गयो भने दिनचर्या बिग्रिने, पढाइमा मन नजाने, कार्यस्थलमा काम गर्न नसक्ने र बेसुरको हुने बानी हुनसक्छ ।

Advertisement

कारण

यो समस्या हुने कारण हो, दीर्घकालीन तनाव । दीर्घकालीन तनाव वा चिन्ताले दिमागको कार्यक्षमतालाई असर गर्छ । निद्राको कमीले पनि यो समस्या हुनसक्छ । जो अवेर सुत्ने वा रातभर नै जस्तो जाग्राम बस्नेमा यो समस्या हुनसक्छ ।

भिटामिन १२, भिटामिन डी वा अन्य पोषक तत्वको कमी, हर्मोनल परिवर्तनले गर्भावस्था, रजोनिवृत्ति वा थाइराइड समस्याले मस्तिष्कमा प्रभाव पारी यो समस्या गराउन सक्छ । केही औषधि, डिप्रेसन, माइग्रेन वा दीर्घकालीन रोगहरूले ब्रेन फग हुनसक्छ ।

लक्षणहरू

काममा वा कुराकानीमा ध्यान दिन गाह्रो हुनु, स्मरणशक्तिमा समस्या हुने, कुराहरू बिर्सने वा सम्झन गाह्रो हुनु, कुरा बुझ्न समय लाग्नु, मानसिक थकान, दिमाग सुस्त वा थकित भएको महसुस हुनु, विचारहरू अस्पष्ट वा अलमलिएको जस्तो हुनु र स्पष्ट सोच्न नसक्नु र दिमाग सुस्त वा थकित भएको महसुस हुनु, जसले गर्दा साधारण काम पनि जटिल लाग्ने हुनसक्छ ।

पहिचान

उल्लेखित लक्षणहरू बारम्बार वा लामो समयसम्म (जस्तै-: हप्ता वा महिनौंसम्म) रहिरहन्छन् भने यो ब्रेन फग हुन सक्छ । सामान्य थकान वा एक–दुई दिनको कमजोरीलाई ब्रेन फग भन्न मिल्दैन । तर, यदि यो दैनिक जीवनमा असर पार्छ भने ध्यान दिनुपर्छ ।

चिकित्सकीय जाँच

रक्त परीक्षण : भिटामिनको कमी, थाइराइड, वा अन्य रासायनिक असन्तुलन जाँच्ने । न्यूरोलोजिकल परीक्षण : यदि गम्भीर समस्या शंका भएमा, सामान्यतया अस्थायी हुन्छ र जीवनशैली परिवर्तन वा उपचारले सुधार हुन्छ ।

समाधान के ?

दिनमा ७ देखि ८ घण्टा राम्रो निद्रा लिने । - विशेषगरी ओमेगा– ३, फलफूल र हरियो सागसब्जी नियमित खाने। – प्रशस्त पानी पिउने । - नियमित शारीरिक गतिविधि गरि दिमागलाई सक्रिय राख्ने । - ध्यान, योग वा गहिरो सास लिने अभ्यास गर्ने । - यदि लक्षण गम्भीर भएमा डाक्टरसँग परामर्श लिने ।

यदि तपाईंलाई ‘ब्रेन फग’ को समस्या बारम्बार हुन्छ वा दैनिक जीवनमा असर पारिरहेको छ भने मनोविज्ञ तथा मनोचिकित्सकसँग जाँच गराउनु उपयुक्त हुन्छ ।