१. घरमा नभन्नु भन्ने साथी
बारम्बार 'यो कुरा घरमा नभन्नु' भन्ने साथीप्रति सतर्क हुनुपर्छ। राम्रो साथीले कहिल्यै गोप्य राख्नुपर्ने गलत काम सिकाउँदैन । घरमा भन्न डर लाग्ने काम प्रायः गलत हुन्छ । यस्तो संगतले बच्चालाई झूट बोल्न, लुकाउन र गलत निर्णय लिन प्रेरित गर्न सक्छ । आमाबाबुले बच्चालाई खुला रूपमा सबै कुरा भन्न सक्ने वातावरण बनाउनुपर्छ ।
२. भावनात्मक दबाब दिने साथी
'साथी हो भने यो गर्नैपर्छ' भन्ने दबाब दिने साथी राम्रो होइन । यस्तो व्यवहार भावनात्मक ब्ल्याकमेल हो । सच्चा साथीले कहिल्यै स्वतन्त्रता खोस्दैन, बरु निर्णयको सम्मान गर्छ । दबाब दिने संगतले बच्चालाई आत्मविश्वासहीन र निर्भर बनाउँछ । बच्चालाई आफ्नो निर्णयमा अडिन र “नाइँ” भन्न सक्ने बानी सिकाउनु आवश्यक हुन्छ ।
३. गलत कामलाई बढावा दिने साथी
क्लास बंक, चुरोट, मदिरा, झगडा वा गालीलाई 'आजकाल यस्तै चल्छ' भनेर सामान्य बनाउने साथी खतरनाक हुन्छ । यस्तो संगतले गलत कामलाई आकर्षक देखाएर बच्चालाई गलत दिशामा लैजान्छ । राम्रो साथीले प्रगति, अनुशासन र सम्मान सिकाउँछ । गलतलाई रमाइलो वा स्टाइल बनाउने साथीसँग दूरी राख्नु नै बुद्धिमानी हुन्छ ।
४. पढाइलाई 'बोरिङ' भन्ने साथी
राम्रो पढाइ गर्ने, अनुशासित वा शिक्षकसँग नजिक हुनेलाई “पढन्ते” भनेर होच्याउने साथी प्रगतिमा बाधक हुन्छ। यस्तो साथीले बच्चाको सफलतामा डाह गरेर तल झार्न खोज्छ। सच्चा साथीले सधैं अगाडि बढ्न प्रेरित गर्छ। पढाइ, मेहनत र राम्रो बानीलाई मजाक बनाउने व्यक्तिसँग धेरै नजिक हुनु भविष्यका लागि हानिकारक हुन सक्छ।
५. व्यवहारमा नकारात्मक परिवर्तन
यदि बच्चा अचानक झूट बोल्ने, रिसाउने, पढाइमा ध्यान नदिने वा मोबाइलमा धेरै समय बिताउने भएको छ भने संगततर्फ ध्यान दिनुपर्छ । यस्ता परिवर्तन नराम्रो साथीको प्रभाव हुन सक्छ । घरमा झगडा बढ्नु, परिवारबाट टाढा हुनु र गोपनीयता बढ्नु पनि चेतावनीका संकेत हुन् ।
६. सीमा नमान्ने साथी
'म यो गर्दिन' भनेपछि पनि बारम्बार उक्साउने वा जबरजस्ती गर्ने साथी सच्चा साथी होइन । राम्रो मित्रतामा व्यक्तिगत सीमा, इच्छा र असहमतिको सम्मान हुन्छ । सीमा मिच्ने बानीले बच्चालाई मानसिक दबाबमा पार्न सक्छ । बच्चालाई आफ्नो कुरा स्पष्ट राख्न, असहज अवस्थामा टाढा हुन र 'नाइँ' भन्न सिकाउनु जरुरी हुन्छ ।
७. गलत काममा उक्साउने साथी
चोरी गर्न, चिट चोर्न, अश्लील सामग्री हेर्न वा कसैलाई झूट बोल्न उक्साउने साथी सबैभन्दा खतरनाक हुन्छ । यस्तो संगतले बच्चाको चरित्र, पढाइ र भविष्यलाई गम्भीर असर पुर्याउन सक्छ। आमाबाबुले बच्चालाई सही–गलत छुट्याउन सिकाउँदै विश्वासपूर्ण सम्बन्ध बनाउनुपर्छ ताकि उनीहरूले समस्या खुलेर भन्न सकून् ।