+

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

गर्भावस्थामा महिलाको शरीरमा मुख्य हर्मोनको स्तरमा ठूलो परिवर्तन आउँछ । विशेषगरी प्रोजेस्टेरोन नामक हर्मोन बढ्दा मूत्रनली र पिसाब थैलीका मांसपेशीहरू सुस्त भइदिन्छन् । यसले पिसाब राम्रोसँग बग्न दिँदैन र पिसाब थैलीमा केही मात्रा बाँकी रहन्छ ।

बाँकी रहेको पिसाबमा ब्याक्टेरिया सजिलै बढ्न थाल्छन् । गर्भाशय बढ्दै जाँदा यसले पिसाब थैलीमाथि दबाब दिन्छ जसले पिसाब पूरै खाली हुन दिँदैन । यस अवस्थालाई पिसाबको स्थिरता भनिन्छ ।

Advertisement

यसबाहेक गर्भावस्थामा पिसाबमा ग्लुकोज र प्रोटिनको मात्रा बढ्छ, जसले ब्याक्टेरियालाई बढ्न थप मद्दत गर्छ । सामान्य अवस्थामा पिसाब एसिडिक हुन्छ, जसले संक्रमणबाट बचाउँछ तर गर्भावस्थामा यो क्षमता कम हुन्छ ।

अर्को कारण हो, यौन सम्पर्क । यौन सम्पर्कपछि मूत्रमार्गमा ब्याक्टेरिया सजिलै प्रवेश गर्न सक्छन् । यदि पहिलेदेखि नै पिसाबको संक्रमण भइरहने समस्या छ, मधुमेह छ वा बस्ने वातावरण फोहोर छ भने जोखिम झन् बढ्छ ।

कुन त्रैमासिकमा यो समस्या बढी देखिन्छ ?

गर्भावस्थालाई तीन भागमा विभाजन गरिन्छ । पहिलो त्रैमासिक अर्थात् सुरुवाती तीन महिना, दोस्रो त्रैमासिक अर्थात् मध्य तीन महिना र तेस्रो त्रैमासिक अर्थात् अन्तिम तीन महिना । पिसाबको संक्रमण सबै त्रैमासिकमा हुन सक्छ तर यो पहिलो र दोस्रो त्रैमासिकमा बढी देखिन्छ ।

कारण भनेको, यो समयमा गर्भाशयले पिसाब थैलीलाई दबाउन थाल्छ र हर्मोनल परिवर्तन मुख्य रूपमा सक्रिय हुन्छन् । छैटौं हप्तादेखि चौबिसौं हप्तासम्म यो जोखिम सबैभन्दा उच्च हुन्छ । दोस्रो त्रैमासिकमा मिर्गौलाको संक्रमण सबैभन्दा बढी देखिन्छ ।

तेस्रो त्रैमासिकमा पनि समस्या हुनसक्छ तर अलि कम हुन्छ, किनकि शरीरले केही अनुकूलन गरिसकेको हुन्छ । तर यदि पहिले नै संक्रमण छ भने यो समयमा जटिल बन्न सक्छ । नियमित जाँचले जुनसुकै त्रैमासिकमा पनि समस्या पत्ता लगाउन सकिन्छ ।

कति जोखिमपूर्ण ?

पिसाबको संक्रमण समयमै उपचार गरे सामान्यतया खतरनाक हुँदैन तर उपचार नगरेमा जोखिम धेरै बढ्छ । आमालाई मिर्गौलाको संक्रमण हुनसक्छ जसले, सेप्सिस, रक्तचाप बढ्ने, किड्नीको क्षति जस्ता समस्या निम्त्याउछ । गम्भीर अवस्थामा अस्पताल भर्ना हुनु पर्ने स्थिति आउन सक्छ ।