+

निद्रामा किन अचानक हातखुट्टा चल्छ ?

निद्रामा अचानक हात–खुट्टा चल्नु, चिच्याउनु वा लात–मुक्का हान्नु धेरैले सामान्य सपना ठान्छन् । तर यस्तो व्यवहार बारम्बार दोहोरिन्छ भने यो ‘स्लिप बिहेभियर डिसअर्डर’ को संकेत हुन सक्छ । सामान्यतया सपनाको बेला दिमाग सक्रिय भए पनि शरीर स्थिर रहन्छ ।

तर यो समस्यामा शरीरले सपनाअनुसार प्रतिक्रिया दिन थाल्छ । त्यसैले निद्रामा अचानक उठेर हात–खुट्टा चलाउनु, बोल्नु वा डराएर भाग्न खोज्नु साधारण कुरा होइन । यसले आफैंलाई वा नजिकै सुतिरहेको व्यक्तिलाई चोट लाग्ने जोखिम पनि बढाउँछ ।

Advertisement

यो समस्या विशेषगरी र्‍यापिड आई मुभमेन्ट चरणमा हुन्छ । यही चरणमा जीवन्त सपना देखिन्छ । सामान्य अवस्थामा मस्तिष्कले मांसपेशीलाई अस्थायी रूपमा निष्क्रिय बनाउँछ, जसले सपनाअनुसार शरीर चल्न दिँदैन ।

तर ‘स्लिप बिहेभियर डिसअर्डर’ भएका व्यक्तिमा यो प्रक्रिया कमजोर हुन्छ । फलस्वरूप व्यक्ति सपनामा जे देख्छ, शरीरले त्यहीअनुसार काम गर्न थाल्छ । यही कारण निद्रामा लात हान्ने, मुक्का हान्ने, चिच्याउने वा ओछ्यानबाट खस्ने जस्ता घटना हुन्छन् ।

व्यक्ति निद्रामा जोडले बोल्न सक्छ, गाली गर्न सक्छ, डरले चिच्याउन सक्छ वा अचानक उठेर बस्न सक्छ । कतिपय अवस्थामा हात–खुट्टा बेस्सरी हल्लाउने, मुक्का प्रहार गर्ने वा भाग्ने प्रयास पनि हुन्छ । बिहान उठ्दा ओछ्यान अस्तव्यस्त भएको, शरीरमा चोट लागेको वा जीवनसाथी डराएर छुट्टै सुत्नुपर्ने अवस्था आउन सक्छ ।

विशेषज्ञहरूका अनुसार यो समस्या ५० वर्षभन्दा माथिका पुरुषमा बढी देखिन्छ । रक्सी, केही एन्टिडिप्रेसन्ट औषधि, स्नायु प्रणालीको असन्तुलन वा उमेरसँगै मस्तिष्कमा आउने परिवर्तनले जोखिम बढाउन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा, यो पार्किन्सन्स, डीमेन्सिया वा मल्टिपल सिस्टम एट्रोफी जस्ता स्नायु रोगको सुरुवाती संकेत पनि हुन सक्छ ।

यदि निद्रामा हात–खुट्टा चल्दा आफूलाई वा सँगै सुत्ने व्यक्तिलाई चोट लाग्ने अवस्था आउँछ भने तुरुन्त चिकित्सकलाई भेट्नुपर्छ । यसको निदानका लागि स्लीप स्टडी (पोलीसोम्नोग्राफी) सबैभन्दा महत्वपूर्ण परीक्षण हो ।

यसमा रातभर मस्तिष्कको तरंग, आँखाको गतिविधि, मांसपेशीको चाल, श्वासप्रश्वास र मुटुको धड्कन रेकर्ड गरिन्छ । आवश्यक परे न्यूरोलोजिकल परीक्षण, MRI वा अन्य जाँच पनि गर्न सकिन्छ । समयमै निदान भयो भने भविष्यमा जटिल स्नायु रोगको संकेत पनि पहिल्यै थाहा पाउन सकिन्छ ।