१. प्रतिस्पर्धाको बोझ
बच्चाहरूबीच हरेक क्षेत्र पढाइ, खेलकुद, अतिरिक्त क्रियाकलापमा अत्यधिक प्रतिस्पर्धा हुने वातावरणले उनीहरूलाई सधैं ‘म अरूभन्दा राम्रो हुनुपर्छ’ भन्ने दबाब दिन्छ । नेपालजस्ता देशमा जहाँ टपर बन्ने संस्कृति छ, त्यहाँ बच्चाहरूले आफूलाई असफल ठान्न थाल्छन् ।
२. गलत मूल्यांकन प्रक्रिया
धेरै अभिभावक र शिक्षकले बच्चाको प्रयासलाई होइन, मात्र परिणाम (नम्बर, पदक वा जित)लाई हेरेर मूल्यांकन गर्छन् । यदि बच्चाले मेहनत गरे पनि नतिजा राम्रो आएन भने ऊ आफूलाई ‘असफल’ ठान्छ । यसले प्रयासको महत्व बुझ्न नदिई हीन भावना बढाउँछ । सही मूल्यांकन भनेको प्रक्रिया र प्रयासलाई प्राथमिकता दिनु हो ।
३. दबाब महसुस हुनु
बाबु–आमाले निरन्तर ‘यो गर्नू, त्यो गर्नू, राम्रो नभए के हुन्छ ?’ भन्दै दबाब दिएमा बच्चाले आफूलाई कमजोर र अयोग्य ठान्न थाल्छ । यो दबाबले बच्चाको मनोबल गिराउँछ र ऊ कुनै पनि काममा डराउन थाल्छ ।
४. समानताको अभाव
बच्चालाई सधैं ‘तिमी अरू जस्तो छैनौं’, ‘तिमी कमजोर छौँ’ जस्ता भावना दिनुले उसको आत्मबल कमजोर हुन्छ । यस्तो अवस्थामा बच्चालाई अरूसँग तुलना गर्न बाध्य बनाउँछ र ऊ आफूलाई ‘अलग’ वा ‘कमजोर’ ठान्छ ।
५. नकारात्मक टिप्पणी र आलोचना
बाबु–आमा, शिक्षक वा आफन्तले बच्चाको बारम्बार ‘तिमी केही गर्न सक्दैनौँ’ जस्ता टिप्पणी गरेमा बच्चाको मनमा नकारात्मक धारणा बस्छ । यो सबैभन्दा शक्तिशाली कारण हो किनकि बच्चाले यी शब्दहरूलाई आफ्नो ‘सत्य’ ठान्छन् ।
६. असुरक्षा
घरमा पारिवारिक झगडा, आर्थिक समस्या, तनाव वा भावनात्मक उपेक्षा भएमा बच्चाले ‘म सुरक्षित छैन’ भन्ने महसुस गर्छ । यो भावनात्मक असुरक्षाले आत्मविश्वासको जग नै कमजोर बनाउँछ ।