+

गर्भवती आमालाई दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

खासगरी गर्भवती आमालाई वंशाणुगत रोग भएमा त्यो बच्चामा सर्न सक्छ । थालासेमिया, हेमोफिलिया, एचआईभी एड्स, थाइराइड गडबडी जस्ता समस्या भएमा तिनका शिशुमा पनि उक्त समस्या आउन सक्छ ।

उच्च रक्तचाप, मधुमेह, हृदयघात, मुटुरोग र क्यान्सर पनि बच्चालाई सर्न सक्छ । तर गर्भवतीलाई कुनै किसिमको वंशाणुगत रोग छैन भने शिशुमा त्यस्तो कुनै खतरा हुँदैन ।

Advertisement

हेमोफिलिया

गर्भवती आमालाई हेमोफेलिया भएमा गर्भमा रहेको बच्चालाई हुनसक्छ । हेमोफिलिया रगत जम्ने प्रक्रियामा समस्या हुने वंशाणुगत समस्या हो । यसमा सामान्य चोटपटक लाग्दा पनि धेरै रक्तस्राव हुने समस्या हुन्छ ।

थालासेमिया

यो रोग गर्भवती आमालाई भएमा बच्चालाई सर्न सक्छ । किनभने यो रगतजन्य विकार पनि एक प्रकारको वंशाणुगत रोग हो । यस रोगमा रगतमा हेमोग्लोबिनको कमी हुन्छ । शरीरलाई आवश्यक रगत बन्न सक्दैन र शरीरमा रगतको कमी हुन्छ । जसकारण स्वास्थ्यसम्बन्धी थुप्रै समस्या देखिन्छन् ।

एचआईभी एड्स

गर्भवती आमालाई एचआईभीबाट संक्रमित भएमा गर्भमा रहेको बच्चालाई पनि यो रोग सर्न सक्छ । नवजात शिशुमा जन्मिनासाथ एचआइभी संक्रमण छ कि छैन भन्ने रगत जाँचेर थाहा पाउनुपर्ने हुन्छ । यदि गर्भवती आमाले एचआईभीविरुद्धको औषधि गर्भ रहनु भन्दा पहिलेदेखि नै खाइरहेको अवस्थामा बच्चालाई एचआईभी सर्ने सम्भावना निकै कम हुन्छ ।

हेपाटाइटिस 'बी' र 'सी'

गर्भावस्थामा आमालाई हेपाटाइटिस बी र सी संक्रमण भएमा जन्मिने शिशुलाई पनि ती संक्रमण सर्न सक्छ । गर्भावस्थामा यसको संक्रमण भएमा आमा र बच्चाको मृत्युसमेत हुनसक्छ । यो पनि संक्रमित रगतको माध्यमबाट सर्ने गर्छ ।

थाइराइड गडबडी

आमा गर्भवती हुँदा थाइराइड हार्मोनको अपुग छ भने गर्भमा भएको शिशुलाई पनि थाइराइडको समस्या हुनसक्छ । र, हार्मोनको कमी भएमा शिशु जन्मिएको केही महिना वा वर्षमा नै लक्षण देखापर्छ । जस्तै, गर्भवती महिलामा थाइराइड हार्मोनको कमीले सुस्त मनस्थिति, वृद्धिविकासमा ढिलाइ हुने हुन्छ ।

मधुमेह

आमालाई गर्भवती अवस्थामा मधुमेह भएकै कारण उसको जन्मिने शिशुमा तत्काल मधुमेह रोग देखिंदैन । तर वंशाणुगत रुपमा परिवारमा कसैलाई मधुमेहको समस्या छ भने गर्भवती आमालाई मधुमेहको समस्या नभएपनि बच्चालाई मधुमेह सर्ने सम्भावना बढी हुन्छ ।

उच्च रक्तचाप

कम उमेरमा उच्च रक्तचापको समस्या थियो र गर्भावस्थामा पनि उच्च रक्तचापको समस्या भएमा जन्मिने शिशुहरुमा पछि गएर उच्च रक्तचापको समस्या हुने जोखिम बढी हुन्छ । तर शिशु जन्मिने बित्तिकै तत्काल असर हुँदैन । दीर्घकालमा यस्तो समस्या हुनसक्छ ।

मुटुरोग

गर्भवती आमालाई जन्मजात मुटुरोग भएमा शिशुलाई मुटुरोग हुन्छ । तर आमालाई जन्मजात खालको नभई बाथरोग जस्ता संक्रमणको कारण पछि आएर मुटुको समस्या वा रोग भएको भए त्यस्तो खालको मुटुरोग सर्ने सम्भावना कम हुन्छ ।