+

एयर प्युरिफायर किन्नुअघि गर्ने ५ महत्त्वपूर्ण जाँच

बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अस्वस्थ बन्दै गएको छ । यस्तो अवस्थामा एयर प्युरिफायर धेरैको रोजाइ बन्न थालेको छ । तर सही जानकारी बिना किन्दा पैसा र स्वास्थ्य दुवैमा असर पर्न सक्छ । त्यसैले यी ५ महत्वपूर्ण कुरा जान्नु आवश्यक छ ।

एचईपीए फिल्टर

एयर प्युरिफायर किन्दा सबैभन्दा पहिले एचईपीए फिल्टर छ कि छैन हेर्नुपर्छ । यसले धूलो, एलर्जी र सूक्ष्म कणहरू हटाउन मद्दत गर्छ । ‘एचईपीए टाइप’ भन्दा असली एचईपीए फिल्टर बढी प्रभावकारी मानिन्छ । साना बच्चा र एलर्जी भएका व्यक्तिका लागि यो धेरै उपयोगी हुन्छ ।

Advertisement

कोठाको आकार अनुसार मेसिन

हरेक एयर प्युरिफायरको क्षमता फरक हुन्छ । त्यसैले कोठाको आकार अनुसार मेसिन छान्नु आवश्यक हुन्छ । सानो प्युरिफायरले ठूलो कोठाको हावा प्रभावकारी रूपमा सफा गर्न सक्दैन । किन्नुअघि सीएडीआर र कोठाको क्षेत्रफल मिल्छ कि मिल्दैन भनेर अवश्य जाँच गर्नुपर्छ ।

आवाज र बिजुली खपतबारे जानकारी

एयर प्युरिफायरको आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ । धेरै आवाज गर्ने मेसिनले आराम र निद्रामा असर गर्न सक्छ । कम बिजुली खाने र शान्त रूपमा चल्ने मोडेल रोज्दा दीर्घकालीन खर्च कम हुनुका साथै प्रयोग गर्न पनि सहज हुन्छ ।

स्मार्ट फिचर्सभन्दा उपयोगी कुरा रोज्नुहोस्

आजकलका एयर प्युरिफायरमा धेरै स्मार्ट फिचर्स हुन्छन् । तर सबै सुविधा सबैका लागि आवश्यक हुँदैनन् । मोबाइल कन्ट्रोलभन्दा एचईपीए फिल्टर, अटो मोड, फिल्टर चेन्ज इन्डिकेटरजस्ता आधारभूत फिचर्स बढी उपयोगी हुन्छन् । आवश्यकताअनुसार छान्दा अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

फिल्टर बदल्ने खर्चबारे पनि जानकारी लिनुहोस्

एयर प्युरिफायर एक पटक किनेर सकिने सामान होइन । यसको फिल्टर नियमित बदल्नुपर्छ । त्यसैले फिल्टर कति समय टिक्छ, नयाँ फिल्टरको मूल्य कति पर्छ र सजिलै पाइन्छ कि पाइँदैन भन्ने कुरा किन्नुअघि बुझ्नुपर्छ । सही छनोटले स्वास्थ्य र खर्च दुवै बचाउँछ ।