बालबालिकामा क्यान्सर समयमै पत्ता लागे निको हुने सम्भावना धेरै हुन्छ । तर नेपालमा धेरै बिरामी अस्पताल आइपुग्दा रोग फैलिसकेको अवस्था हुने भएकाले उपचार जटिल बन्ने गरेको विशेषज्ञहरू बताउँछन् ।
नेपालमा बाल क्यान्सरको वर्तमान अवस्था कस्तो छ ?
नेपालमा बाल क्यान्सरसम्बन्धी राष्ट्रिय तथ्यांक छैन, अस्पतालको तथ्यांकअनुसार वर्षेनी करिब १,५००–१,६०० नयाँ केस देखिन्छन् । पछिल्लो समय सचेतनाका कारण बाल क्यान्सर पहिचान बढेको छ । देशभरका, विशेषगरी निम्न आय भएका परिवारका बालबालिकाका लागि भक्तपुर क्यान्सर अस्पताल प्रमुख उपचार केन्द्र बनेको छ ।
बालबालिकामा कुन–कुन प्रकारका क्यान्सर बढी देखिन्छन् ?
बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर (ल्यूकेमिया) देखिन्छ, त्यसपछि ब्रेन ट्युमर, लिम्फोमा, हड्डी–मांसपेशीको क्यान्सर, किड्नी, कलेजो हुन्छ । टाउकोदेखि खुट्टासम्म लगभग हरेक अंगमा क्यान्सर हुन सक्छ ।
अहिले अभिभावकहरूमा सचेतना बढ्दै गएको छ, तर अझै पनि जागरण, छिटो पहिचान र समयमै उपचारको आवश्यकता छ । नेपालमै राम्रो उपचार सम्भव छ, त्यसैले शंका लागेमा ढिला गनरी अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।
बालबालिकाको क्यान्सर उपचारमा ढिलाइ किन हुन्छ ?
समाजमा अझै पनि बालबालिकालाई क्यान्सर हुन्छ भन्ने थाहा छैन । दोस्रो, भौगोलिक विकटता देशको विभिन्न भागबाट, विशेष गरी काठमाडौँ बाहिरबाट आउने बिरामीहरू ढिला आउँछन् । तेस्रो, आर्थिक अवस्था हो, शंका लागे पनि आर्थिक कारणले उपचारमा आउन ढिलाइ हुन्छ ।
अर्को कारण लिंगीय पूर्वाग्रह हो, छोरी बच्चा भएमा अलिकति कम प्रयास गर्ने गरिन्छ । साथै, क्यान्सरका लक्षणहरू सामान्य बच्चाको रोग ज्वरो, टन्सिल, कमजोरी सँग मिल्ने भएकाले प्रारम्भिक चरणमा चिकित्सकले पनि चिन्न गाह्रो हुन्छ ।
बाल क्यान्सर : कस्तो अवस्थामा शंका गर्ने ?
नाक, गिजा वा शरीरबाट बिनाकारण रक्तस्राव भएमा, शरीरमा बिना चोट नीलो डाम वा रातो दाना देखिएमा, बच्चालाई दुई–तीन हप्ताभन्दा बढी लगातार ज्वरो आएमा, उपचार गर्दा पनि ज्वरो नघटेमा, शरीर कमजोर भइरहेमा र शरीरमा रक्तअल्पता देखिन सक्छ ।
अत्यधिक कमजोरी वा थकान देखिएमा, हड्डी, जोर्नी दुख्ने, हिँड्न गाह्रो हुने वा लामो समय टाउको दुख्ने भएमा र घाँटी वा शरीरमा गाठागुठी देखिने, पेट फुल्ने वा बिहान बारम्बार बान्ता हुने भएमा क्यान्सर परीक्षण गराउनु उचित हुन्छ ।
बाल क्यान्सरको उपचार कतिको सफल हुन्छ ?
बाल क्यान्सर समयमै पत्ता लगाएर उपचार सुरु गरेमा धेरै हदसम्म निको हुन्छ। नेपालमै धेरै प्रकारका बाल क्यान्सरको सफल उपचार सम्भव छ।