सही तरिकाले दाँत नमाझ्ने, जिब्रो सफा नगर्ने, वा फ्लस नगर्दा खानाका कणहरू मुखमा रहन्छन् र ब्याक्टेरियाले मुखमा गन्ध उत्पन्न गर्छ ।
जिब्रोको पछिल्लो भागमा ब्याक्टेरिया जम्मा भएर गन्ध पैदा हुन्छ । गिजामा ‘जिन्जिभाइटिस’ वा ‘पिरिओडाेन्टाइटिस’ले मुखमा गन्ध निम्त्याउँछ । मुख सुख्खा हुँदा पनि मुखबाट दुर्गन्ध आउने गर्छ । र्यालको कमीले मुख सुख्खा हुँदा ब्याक्टेरिया बढ्छन्, जसले दुर्गन्ध उत्पन्न गर्छ ।
मुखको दुर्गन्धबाट बच्न मौखिक स्वच्छतामा ध्यान दिनुपर्छ । दिनमा दुई पटक बिहान र साँझ फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुपर्छ । जिब्रो क्लिनर वा टूथब्रशले जिब्रोको पछिल्लो भाग सफा गर्नुपर्छ । दाँतको बीचमा अड्किएको खाना हटाउन डेन्टल फ्लस प्रयोग गर्नुपर्छ ।
हरेकपटक खाना खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्नुपर्छ । कसैमा मुखको दुर्गन्ध अत्याधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने गर्नुपर्छ ।
दिनमा २–३ लिटर पानी पिउनपर्छ, जसले मुख सुख्खा हुनबाट जोगाउँछ र मुखको दुर्गन्धबाट बचाउँछ । हरियो सागपात, गाजर, स्याउ जस्ता फाइबरयुक्त खानेकुरा खानुपर्छ जसले दाँत स्वाभाविक रूपमा सफा गर्छ ।
भिटामिन सी युक्त खानेकुरा सुन्तला, कागती, अमला आदिले ब्याक्टेरिया कम गर्छ । दही वा प्रोबायोटिक्स युक्त खानाले पाचन सुधार्छ र मुखमा गन्ध कम गर्छ ।
समस्या लामो समयसम्म रहिरहन्छ भने दन्त चिकित्सक वा विशेषज्ञसँग जाँच गराउनुपर्छ । यदि गिजाको रोग, दाँतको सडन, वा अन्य समस्या छ भने दन्त चिकित्सकलाई भेटेर उपचार गर्नुपर्छ । यदि दुर्गन्ध लगातार रहिरहन्छ भने मधुमेह, पाचन समस्या, वा अन्य रोगको जाँच गराउनुपर्छ ।