+

वर्षायाममा कफी खाँदा के हुन्छ ?

वर्षा सुरु भएपछि चिसो मौसम, झरी र तातो कफीको कप धेरैलाई मन पर्ने संयोजन हो । बिहान उठेपछि कफी नपिई दिन सुरु नै हुँदैन भन्नेहरू पनि धेरै छन् । कामको थकान हटाउन, निद्रा भगाउन वा झरी परेको बेला न्यानो महसुस गर्न कफी पिउने गरिन्छ ।

वर्षायाममा पिउँदा भने पेटसम्बन्धी समस्या पनि बढ्ने गर्छ । ग्यास, एसिडिटी, पेट फुल्ने, पेट दुख्ने, वाकवाकी र झाडापखाला जस्ता समस्या देखिन सक्छन् । यस्तो अवस्थामा कफीले पेटको समस्या झन् बढाउँछ कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

Advertisement

वर्षायाममा कफी पिउन हुन्छ कि हुँदैन ?

वर्षायाममा कफी पिउनै नहुने भन्ने होइन । स्वस्थ व्यक्तिले उचित मात्रामा कफी पिउन सक्छन् । तर पेट संवेदनशील छ वा कफीले पहिले नै समस्या बढाउने गरेको छ भने मात्रा घटाउनु वा कफीबाट टाढा रहनु राम्रो हुन्छ ।

वर्षायाममा पेटको समस्या किन बढ्छ ?

वर्षायाममा वातावरणमा आद्र्रता र तापक्रम बढ्दा ब्याक्टेरिया तथा फंगल फैलिन अनुकूल वातावरण बन्न सक्छ । दूषित खाना र पानीका कारण पनि पेटमा संक्रमण हुने जोखिम बढ्छ । बाहिरको काटेर राखिएको फलफूल, अस्वच्छ पानी, सडकछेउका खानेकुरा तथा दूषित बरफको सेवनले पेटसम्बन्धी समस्या हुनसक्छ ।

कफीले एसिडिटी बढाउँछ ?

कफीमा पाइने क्याफिनले केही मानिसमा पेटमा अम्ल उत्पादन र पाचन प्रणालीको गतिविधि बढाउन सक्छ । त्यसैले, कफी पिएपछि केही व्यक्तिलाई छाती वा पेट पोल्ने, अमिलो डकार आउने, वाकवाकी हुने वा पेट असहज हुने समस्या हुन सक्छ ।

कति कफी पिउने ?

स्वस्थ व्यक्तिले आफ्नो शरीरले सहने मात्रामा कफी पिउन सक्छन् । सामान्यतः दिनमा १–२ कप कफी पर्याप्त हुन सक्छ । तर कफी पिउँदा समय र तरिकामा पनि ध्यान दिनुपर्छ ।

खाली पेटमा नपिउने

बिहान उठ्नेबित्तिकै खाली पेटमा कफी पिउने बानी छ भने त्यसलाई परिवर्तन गर्नु राम्रो हुन्छ । केही व्यक्तिमा खाली पेटमा कफीले एसिडिटी र पेटको असहजता बढाउन सक्छ । त्यसैले, केही खानेकुरा खाएपछि कफी पिउनु राम्रो हुन्छ ।

खाना खाएलगत्तै कफी नपिउने

खाना खाएपछि तुरुन्तै कफी पिउनेभन्दा केही समयको अन्तर राख्नु राम्रो हुन्छ । करिब ३०–४५ मिनेटपछि कफी पिउन सकिन्छ ।

धेरै कडा कफी नपिउने

दिनमा धेरै कप कडा वा ब्ल्याक कफी पिउने बानी छ भने मात्रा घटाउनु राम्रो हुन्छ । पेट संवेदनशील हुने व्यक्तिले हल्का कफी रोज्न सक्छन् ।