+

नुहाउँदा के गर्नु हुँदैन ?

नुहाउने क्रममा गरिने केही सामान्य गल्तीले छालाको प्राकृतिक चिल्लोपन हटाएर सुरक्षा तह कमजोर बनाउन सक्छ । यसले छाला सुक्खा, खस्रो, तन्किएको र संवेदनशील बन्ने समस्या निम्त्याउन सक्छ ।

धेरै तातो पानी

चिसो मौसममा तातो पानीले लामो समय नुहाउँदा निकै आनन्द लाग्न सक्छ । तर धेरै तातो पानीले छालाको प्राकृतिक तेल हटाउँछ । यसले छाला सुक्खा, तन्किएको र रातो बनाउनुका साथै पहिलेदेखि रहेको सुक्खापन झन् बढाउन सक्छ ।

Advertisement

कडा साबुनको प्रयोग

कडा साबुन, एन्टिब्याक्टेरियल साबुन वा धेरै सुगन्ध भएका बडीवासले छालाको सुरक्षा तहमा असर गर्न सक्छन् । नियमित प्रयोग गर्दा जलन, सुक्खापन र एलर्जीको जोखिम बढ्न सक्छ । संवेदनशील छालाका लागि हल्का, सुगन्धरहित र छालामैत्री क्लिन्जर रोज्नु राम्रो हुन्छ ।

जोडले छाला घोट्ने

ब्रस वा स्क्रबरले छाला जोडले घोट्ने बानी धेरैमा हुन्छ । नुहाएपछि तौलियाले कडा रूपमा रगड्नु पनि ठीक होइन । यसले छालाको बाहिरी तहमा क्षति पुर्‍याएर जलन, रातोपन र सुक्खापन बढाउन सक्छ । नरम तौलियाले बिस्तारै पुछ्नु राम्रो हुन्छ ।

दिनमा धेरै पटक नुहाउने

गर्मीमा पसिना धेरै आउँदा दिनमा दुई–तीन पटकसम्म नुहाउने बानी हुन सक्छ । तर पटक–पटक नुहाउँदा छालाको प्राकृतिक तेल हराउन सक्छ । हरेक पटक साबुन प्रयोग गर्दा चिस्यान झन् कम हुन्छ । आवश्यक परे हल्का क्लिन्जर प्रयोग गर्नु राम्रो हुन्छ ।

मोइस्चराइजर नलगाउने

नुहाएपछि छालामा केही समय प्राकृतिक चिस्यान रहन्छ । यही समयमा मोइस्चराइजर लगाउँदा त्यो चिस्यान लामो समयसम्म कायम राख्न सहयोग पुग्छ । त्यसैले नुहाएर धेरै समय पर्खिनुभन्दा केही मिनेटभित्रै मोइस्चराइजर लगाउने बानी बसाल्नु छालाका लागि फाइदाजनक हुन्छ ।

छालालाई स्वस्थ राख्ने तरिका

छालालाई स्वस्थ राख्न धेरै तातो पानीबाट बच्ने, हल्का क्लिन्जर प्रयोग गर्ने र छाला जोडले नघोटने, आवश्यकताभन्दा धेरै पटक ननुहाउने गर्नु उचित हुन्छ।

नुहाएपछि केही मिनेटभित्रै मोइस्चराइजर लगाउने, छालामा लगातार पोल्ने वा समस्या भए चिकित्सकसँग परामर्श लिन सकिन्छ ।