कोठालाई आकर्षक बनाउन रंगरोगनसँगै विभिन्न सजावटी सामग्री प्रयोग गरेर पनि भित्तालाई सुन्दर बनाउन सकिन्छ ।
फोटो फ्रेम
परिवारसँग बिताएका विशेष क्षणका तस्बिरलाई आकर्षक फ्रेममा राखेर भित्तामा सजाउन सकिन्छ । साना–ठूला फ्रेमलाई मिलाएर राख्दा कोठालाई व्यक्तिगत र आकर्षक रूप दिन सकिन्छ ।
वालपेपर
भित्तालाई नयाँ रूप दिन वालपेपर उपयोगी विकल्प हो । विभिन्न रंग, चित्र र त्रिआयामिक डिजाइनका वालपेपरले कोठालाई आकर्षक बनाउँछन् । बालबालिकाको कोठामा अक्षर, जनावर वा कार्टुनका चित्र भएका वालपेपर राख्न सकिन्छ ।
ऐना
भित्तामा ठूलो ऐना वा साना ऐनाका फ्रेम राखेर कोठा सजाउन सकिन्छ । ऐनाले प्रकाश परावर्तन गर्ने भएकाले सानो कोठा पनि खुला र ठूलो देखिन मद्दत गर्छ । त्यससँगै इन्डोर प्लान्ट पनि राख्न सकिन्छ ।
पेन्टिङ
प्राकृतिक दृश्य, कलात्मक चित्र वा परिवारका तस्बिरलाई पेन्टिङका रूपमा भित्तामा सजाउन सकिन्छ । आफ्नो रुचिअनुसार चित्र छनोट गर्दा कोठाले कलात्मक रूप पाउँछ । पेन्टिङको आकार र रङ कोठाको सजावटसँग मिलाउदा झन् सुनमा सुगन्ध बढ्छ ।
भित्ते घडी
ठूलो र आकर्षक डिजाइनको घडीले बैठक कोठाको भित्तालाई विशेष रूप दिन्छ । काठ वा धातुबाट बनेका घडी छनोट गर्न सकिन्छ । घडीलाई भित्ताको खाली भागमा राख्दा सजावट र उपयोगिता दुवै कायम रहन्छ ।
प्रमाणपत्र
आफू वा परिवारका सदस्यले प्राप्त गरेका सम्मानपत्र र प्रमाणपत्रलाई आकर्षक फ्रेममा राखेर सजाउन सकिन्छ । यसले उपलब्धिको सम्झना गराउनुका साथै भित्तालाई पनि आकर्षक बनाउँछ । सबै फ्रेमलाई एउटै ढाँचामा मिलाएर राख्दा व्यवस्थित देखिन्छ ।