+

अब जाँच नगरी मासु बेच्न नपाइने, मंसिरदेखि कडाइ

२८ वर्ष पुरानो पशु वधशाला तथा मासु जाँच ऐन आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा पूर्ण रूपमा लागू हुँदैछ । उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले सरकारले तीन चरणमा देशभर ऐन कार्यान्वयन गर्ने तयारी गरेको छ ।

तीन चरणमा लागू हुँदै ऐन

पहिलो चरणमा १ मंसिरदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा ऐन लागू हुनेछ । दोस्रो चरणमा १ माघदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा तेस्रो चरणमा २०८४ साउन १ देखि सबै गाउँपालिकामा कार्यान्वयन गरिनेछ ।

Advertisement

६७ प्रतिशत मासु पसल दर्ताविनै

पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकाका १ हजार ६ सय ६८ मासु पसलमध्ये ६७ प्रतिशत दर्ताविना सञ्चालनमा छन् । जम्मा ३ प्रतिशत पसलले मात्रै चिस्यान कायम राख्ने व्यवस्था अर्थात् ‘कोल्ड चेन’ अपनाएका छन् ।

छाप लगाएको मासु मात्रै बेच्न पाइने

पहिलो चरणमा राँगा–भैंसी र बंगुरको मासु जाँचमा कडाइ गरिनेछ । पशु सेवा विभागले ९ सय ७० जना मासु निरीक्षक तयार पारेको जनाएको छ । निरीक्षण गरी छाप लगाइएको मासु मात्रै बिक्री गर्न पाइनेछ । नियम उल्लंघन गरे १० देखि २० हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

उपत्यकाका नाकामा ठूला वधशाला बनाइने

वधशाला सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले रेफ्रिजरेटेड भ्यान र उपकरणमा आवश्यक भन्सार छुट तथा बैंक ऋणमा ३ प्रतिशत ब्याज अनुदान दिइने घोषणा गरेको छ । बस्तीबीच वधशाला सञ्चालन गर्न कठिन हुने भन्दै उपत्यका प्रवेश गर्ने ४–५ वटा नाकामा ठूला वधशाला बनाउने योजना पनि अघि सारिएको छ ।