+

पिसाब चुहिने समस्या के हो ?

हाँस्दा, खोक्दा, हाच्छ्युँ गर्दा, उफ्रिँदा वा गह्रौँ सामान उठाउँदा अनायासै पिसाब चुहिनुलाई ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ भनिन्छ । यस अवस्थामा पिसाब लागेको महसुस नभए पनि पेटभित्रको दबाब बढ्दा पिसाब चुहिन सक्छ । कसैको केही थोपा मात्र चुहिन्छ भने कसैको भित्री वस्त्र नै भिज्न सक्छ ।

किन हुन्छ यस्तो समस्या ?

गर्भावस्था, प्रसव र उमेरसँगै शरीरमा आउने परिवर्तनले महिलामा पिसाब चुहिने समस्या देखिन सक्छ । बच्चा जन्माउने क्रममा पिसाबथैली र अन्य श्रोणी अङ्गलाई सहारा दिने पेल्भिक फ्लोरका मांसपेशी तथा तन्तु कमजोर हुन सक्छन् । यसबाहेक मोटोपन, रजोनिवृत्तिपछि हुने शारीरिक परिवर्तन तथा अन्य स्वास्थ्य अवस्थाले पनि यसको जोखिम बढाउन सक्छ ।

Advertisement

लाज र सङ्कोचले उपचारमा ढिलाइ

प्रा. डा. श्रेष्ठका अनुसार पिसाब चुहिने समस्या भएका कतिपय महिला सामाजिक लाज र सङ्कोचका कारण उपचारका लागि ढिलो आउने गर्छन् । पिसाब गन्हाउने वा अरूले थाहा पाउने डरले उनीहरू समस्या लुकाउँछन् । कतिपयले वर्षौँसम्म समस्या सहेर बस्ने र चिकित्सकीय परामर्शबिना औषधि प्रयोग गर्ने गरेको उनको अनुभव छ ।

धुलिखेल अस्पतालमा नौ वर्षदेखि उपचार

धुलिखेल अस्पतालमा सन् २०१७ देखि मिनिस्लिङ शल्यक्रियामार्फत पिसाब चुहिने समस्याको उपचार सुरु गरिएको प्रा. डा. श्रेष्ठ बताउँछिन् । उनका अनुसार हालसम्म ५११ जना महिलाको उपचार भइसकेको छ । चिकित्सकीय शुल्क नलिई सेवा दिइँदै आएको र परीक्षण तथा अस्पताल बसाइबाहेक उपचार खर्च सामान्यतया २५ देखि ३५ हजार रुपैयाँसम्म पर्ने गर्छ ।

के हो मिनिस्लिङ शल्यक्रिया ?

मिनिस्लिङ शल्यक्रियामा पिसाब नली अर्थात् युरेथ्रालाई सहारा दिन विशेष टेप राखिन्छ । यसले हाँस्दा, खोक्दा वा पेटभित्रको दबाब बढ्दा पिसाब चुहिने समस्या कम गर्न मद्दत गर्छ । प्रा. डा. श्रेष्ठका अनुसार यो शल्यक्रिया करिब १५ मिनेटमा सम्पन्न हुन्छ ।

तर, पिसाब चुहिने सबै महिलालाई शल्यक्रिया आवश्यक पर्दैन । समस्या र स्वास्थ्य अवस्थाअनुसार उपचार तय गरिन्छ ।

विस्तृतमा पढ्न दिइएको लिंक थिच्नुहोस् । https://www.onlinekhabar.com/2026/11/2051831