आफूलाई स्वीकार गर्न सिक्नुहोस्
आत्मविश्वास बढाउने पहिलो कदम आफूलाई स्वीकार गर्नु हो । हरेक व्यक्तिमा केही राम्रा र केही सुधार गर्नुपर्ने पक्ष हुन्छन् । आफ्नो कमजोरीलाई लिएर हीनभावना पाल्नुभन्दा त्यसलाई सुधार्ने प्रयास गर्नुहोस् । अरूसँग आफ्नो तुलना गर्ने बानी छाड्नुहोस् । तपाईंको क्षमता, अनुभव र व्यक्तित्व अरूभन्दा फरक हुन सक्छ ।
साना लक्ष्य बनाएर पूरा गर्नुहोस्
एकैपटक ठूलो सफलता हासिल गर्ने सोचले कहिलेकाहीँ निराश बनाउन सक्छ । त्यसैले साना र पूरा गर्न सकिने लक्ष्य बनाउनुहोस् । दिनहुँको काम समयमै सक्ने, नयाँ कुरा सिक्ने वा आफूले डर मानिरहेको काम गर्ने प्रयास गर्नुहोस् । साना लक्ष्य पूरा हुँदै जाँदा आफूले पनि केही गर्न सक्छु भन्ने विश्वास बढ्छ ।
सकारात्मक सोच राख्नुहोस्
आफूले गर्न सक्दिनँ, म असफल हुन्छु वा म अरूजस्तो सक्षम छैन भन्ने सोचले आत्मविश्वास कमजोर बनाउँछ । यस्तो सोच आउँदा त्यसलाई चुनौती दिनुहोस् । असफलतालाई आफ्नो क्षमताको अन्तिम प्रमाण नमान्नुहोस् । बरु, त्यसबाट सिक्ने अवसरका रूपमा लिनुहोस् । आफूले गर्न सक्ने कुरामा ध्यान दिनुहोस् ।
आफ्नो शरीर र स्वास्थ्यको ख्याल गर्नुहोस्
शारीरिक र मानसिक स्वास्थ्यले पनि आत्मविश्वासमा प्रभाव पार्छ । नियमित व्यायाम, पर्याप्त निद्रा र सन्तुलित खानपानले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । आफूलाई सफा र व्यवस्थित राख्नुहोस् । मन लागेको पहिरन लगाउनुहोस् र आफ्नो व्यक्तित्वप्रति सहज महसुस गर्नुहोस् ।