१. सुरुमा अस्ट्रियाली नागरिक
अडोल्फ हिटलर जर्मनीका सबैभन्दा चर्चित शासकमध्ये एक मानिन्छन्, तर उनी जन्मजात जर्मन थिएनन् । उनको जन्म सन् १८८९ मा अस्ट्रियाको ब्राउनाउ एम इनमा भएको थियो ।
युवावस्थामा उनी जर्मन राष्ट्रवादतर्फ आकर्षित भए र पछि अस्ट्रियाली नागरिकता त्यागेर जर्मनीको नागरिक बने । यही परिवर्तनले उनको राजनीतिक यात्रा सुरु गर्यो, जसले उनलाई अन्ततः जर्मनीको सर्वोच्च सत्तासम्म पुर्यायो ।
२. हिटलरको चित्रकार बन्ने सपना
युवावस्थामा हिटलरको सपना चित्रकार बन्ने थियो। उनले एकेडेमी अफ फाइन आर्ट्समा दुई पटक प्रवेशका लागि आवेदन दिएका थिए, तर दुवै पटक असफल भए । उनी वास्तुकला चित्रमा केही राम्रो भए पनि मानव आकृतिमा कमजोरी देखिएको भनिन्थ्यो । यदि उनी पास भएका भए, इतिहास नै फरक हुन सक्थ्यो भन्ने अनुमान धेरैले गर्ने गर्छन् ।
३. जीवनको कठिन समय
चित्रकार बन्न नसकेपछि उनले आर्थिक संकट झेले । सन् १९०९ तिर उनी भियनामा घरबारविहीन बनेर आश्रयस्थलमा बस्न बाध्य भए । चित्र र पोस्टकार्ड बेचेर जीवन चलाउने प्रयास गरे । केही वर्षसम्म संघर्षपूर्ण जीवन बिताएपछि मात्रै उनको अवस्था सुधारिन थाल्यो र उनी म्युनिखतर्फ सरे ।
४. प्रथम विश्वयुद्धको अनुभव
प्रथम विश्वयुद्ध सुरु भएपछि हिटलर सेनामा भर्ना भए । युद्धका क्रममा उनी घाइते भए र मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्धो पनि भए। युद्धमा देखाएको बहादुरीका लागि उनलाई ‘आइरन क्रस’ पदक प्रदान गरिएको थियो, जसले उनको आत्मविश्वासलाई अझ बलियो बनायो।
५. जेलमा लेखिएको विचार
सन् १९२३ को असफल विद्रोहपछि उनलाई जेल सजाय भयो । जेलमै उनले आफ्नो विचारहरू लेख्न थाले । मेन क्याम्फ पुस्तकमा उनले आफ्नो राजनीतिक सोच र योजना प्रस्तुत गरेका थिए, जसले उनको प्रभाव विस्तार गर्न मद्दत गर्यो ।
६. चुनाव नजितेरै सत्तामा
हिटलरले कहिल्यै प्रत्यक्ष चुनाव जितेनन् । सन् १९३२ मा राष्ट्रपति चुनाव हारे पनि उनको पार्टी शक्तिशाली बन्दै गयो । सन् १९३३ मा उनलाई चान्सलर नियुक्त गरियो । त्यसपछि उनले सत्ता केन्द्रित गर्दै राष्ट्रपति र चान्सलर पदलाई गाभेर आफूलाई ‘फुहरर’ घोषणा गरे । ‘फुहरर भनेको यस्तो नेता जसको हातमा देशको सम्पूर्ण शक्ति केन्द्रित हुन्छ ।