फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदैछन् । फुटबलसँगै संगीत र मनोरञ्जनको भव्य उत्सवले विश्वभरका दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
शाकिरा : विश्वकपको परिचित स्वर
कोलम्बियाकी पप सुपरस्टार शाकिरा विश्वकपसँग जोडिएको सबैभन्दा चर्चित नाममध्ये एक हुन् । २०१० को ‘वाका वाका’पछि उनी फेरि विश्वकप मञ्चमा फर्किएकी छन् । यसपटक उनले नाइजेरियाली गायक बर्ना बोयसँग मिलेर आधिकारिक गीत ‘डाइ डाइ’ प्रस्तुत गर्नेछिन् । उद्घाटन समारोहको मुख्य आकर्षणका रूपमा शाकिराको प्रस्तुति प्रतीक्षाको केन्द्र बनेको छ।
बर्ना बोय : अफ्रिकी संगीतको विश्वव्यापी अनुहार
ग्रामी विजेता नाइजेरियाली कलाकार बर्ना बोय अफ्रो–फ्युजन संगीतका लागि परिचित छन् । उनले शाकिरासँग मिलेर विश्वकप २०२६ को आधिकारिक गीत ‘डाइ डाइ’ गाएका छन् । फिफाले उद्घाटन समारोहमा उक्त गीत पहिलो पटक प्रत्यक्ष रूपमा प्रस्तुत गरिने जनाएको छ। उनको ऊर्जावान प्रस्तुति समारोहको मुख्य आकर्षणमध्ये एक रहने अपेक्षा गरिएको छ ।
जे बाल्भिन : ल्याटिन संगीतका ग्लोबल स्टार
कोलम्बियाली रेगेटोन स्टार जे बाल्भिन विश्वकै सफल ल्याटिन कलाकारमध्ये गनिन्छन् । ‘मि जेन्ते’ र ‘गिन्जा’ जस्ता हिट गीतबाट चर्चित बनेका उनी मेक्सिको सिटीको उद्घाटन समारोहमा सहभागी हुनेछन् । ल्याटिन अमेरिकाको सांगीतिक पहिचान झल्काउने प्रमुख कलाकारमध्ये एक मानिएका बाल्भिनको प्रस्तुति विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
टायला : नयाँ पुस्ताकी अफ्रिकी स्टार
दक्षिण अफ्रिकी गायिका टायला लौरा सीथल पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय संगीत बजारमा तीव्र गतिमा उदाएकी कलाकार हुन्। ‘वाटर’ गीतबाट विश्वव्यापी लोकप्रियता कमाएकी उनी युवा पुस्तामाझ निकै चर्चित छिन् । विश्वकप उद्घाटन समारोहमा उनको उपस्थितिले आधुनिक अफ्रिकी संगीतको प्रभाव र विश्वव्यापी लोकप्रियतालाई झल्काउने अपेक्षा गरिएको छ ।
केटी पेरी : अमेरिकी समारोहकी मुख्य स्टार
अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा आयोजना हुने समारोहमा पप स्टार केटी पेरी मुख्य आकर्षण रहनेछिन् । ‘फायरवर्क’, ‘रोअर’ र ‘डार्क हर्स’ जस्ता विश्वप्रसिद्ध गीतकी गायिका पेरीले विशेष प्रस्तुति दिने तयारी गरिएको छ ।
माइकल बुब्ले : क्यानडाको सांगीतिक प्रतिनिधि
क्यानडाको टोरन्टोमा हुने उद्घाटन समारोहमा माइकल बुब्ले प्रमुख कलाकारका रूपमा देखिनेछन् । ‘होम’ र ‘फिलिङ गुड’ जस्ता लोकप्रिय गीतका गायक बुब्ले आफ्नो सुमधुर स्वरका लागि परिचित छन् । क्यानडाको सांगीतिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने जिम्मेवारी उनको काँधमा रहनेछ ।
कुन कलाकारले कता दिदैछन् प्रस्तुति ?
मेक्सिकोमा हुने मेक्सिको–दक्षिण अफ्रिका खेलअघि शाकिरा र बुर्ना ब्वायले उद्घाटन समारोहमा सँगै प्रस्तुति दिनेछन् । उनीहरूले विश्वकप २०२६ को आधिकारिक गीत 'दाइ दाइ' पनि गाउनेछन् ।