पछिल्ला केही महिनायता विभिन्न देशमा कुखुरा तथा अन्य पन्छीमा बर्ड फ्लूको संक्रमण बढिरहेको छ । नेपालमा पनि केही क्षेत्रमा संक्रमण पुष्टि भएपछि फेरि जनचासो बढेको हो ।
अहिले देखिएको भाइरस मुख्यतः एचफाइभवान समूहसँग सम्बन्धित मानिन्छ, जुन विश्वभर निगरानीमा राखिएको प्रकार हो ।
'बर्ड फ्लू' के हो ?
बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) पन्छीमा लाग्ने भाइरल रोग हो। यो इन्फ्लुएन्जा ‘ए’ भाइरसबाट हुन्छ र मुख्यतः जंगली चराचुरुङ्गी तथा कुखुरामा फैलिन्छ। केही प्रकार, विशेषगरी एचफाइभएनवान, मानिसका लागि पनि खतरनाक हुन सक्छ । त्यसैले, यसलाई सामान्य फ्लू सम्झेर बेवास्ता गर्नु हुँदैन ।
मानिसमा कसरी सर्छ ?
बर्ड फ्लू संक्रमित पन्छीको दिसा, र्याल, प्वाँख वा शरीरबाट निस्कने तरल पदार्थमार्फत मानिसमा सर्न सक्छ । कुखुरा फार्ममा काम गर्ने, पन्छी काट्ने वा संक्रमित खोर सफा गर्ने व्यक्तिमा जोखिम बढी हुन्छ । मानिसबाट मानिसमा सहज रूपमा फैलिने रोग भने अझै बनेको छैन ।
कुखुरामा देखिने लक्षण
अचानक धेरै कुखुरा मर्नु, दाना कम खानु, सुस्त हुनु, अण्डा कम दिनु, सास फेर्न गाह्रो हुनु वा टाउको सुन्निनु बर्ड फ्लूका संकेत हुन सक्छन् । यस्ता लक्षण देखिए तुरुन्त पशु सेवा कार्यालयलाई खबर गर्नुपर्छ। संक्रमण लुकाउँदा जोखिम झन् बढ्न सक्छ ।
मासु र अण्डा खान सुरक्षित छ ?
राम्ररी पकाइएको कुखुराको मासु र अण्डा खान सामान्यतया सुरक्षित मानिन्छ । भाइरस ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा निष्क्रिय हुन्छ । तर काँचो मासु छोएपछि साबुनपानीले हात धुनु, पाकेको र काँचो खानेकुरा अलग राख्नु तथा भान्साको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
मानिसमा देखिने लक्षण
बर्ड फ्लूको संक्रमण भएपछि ज्वरो, खोकी, घाँटी दुख्ने, शरीर दुख्ने र आँखा रातो हुने लक्षण देखिन सक्छ । गम्भीर अवस्थामा निमोनिया, श्वासप्रश्वासमा समस्या, अक्सिजन कमी र अंग फेल हुने जोखिम पनि हुन्छ । संक्रमित पन्छीसँग सम्पर्क भएको छ भने लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
डर होइन, सचेतना आवश्यक
अहिले सर्वसाधारण अत्यधिक आत्तिनुपर्ने अवस्था छैन । तर बिरामी वा मरेका पन्छी नछुने, मासु तथा अण्डा राम्रोसँग पकाएर खाने र सरसफाइमा ध्यान दिने बानी आवश्यक छ । असामान्य रूपमा धेरै पन्छी बिरामी परे वा मरेको देखिए सम्बन्धित निकायलाई जानकारी गराउनु नै सबैभन्दा ठूलो जिम्मेवारी हो ।
यो जानकारी संक्रामक विशेषज्ञ डा. शेर बहादुर पुनसँग गरिएको कुराकानीमा आधारित छ । यस सम्बन्धित विस्तृत जानकारीका लागि दिइएको लिंकमा किल्क गर्नुहोस् । www.onlinekhabar.com/2026/05/1940431