बच्चाको स्वस्थ विकासका लागि भिटामिन डी अत्यन्तै आवश्यक पोषक तत्व हो । भिटामिन डीले बच्चाको हड्डी र दाँत बलियो बनाउन, उचाइ वृद्धिमा सहयोग गर्न, रोगसँग लड्ने क्षमता बढाउन र मांसपेशीहरूको विकासमा मद्दत गर्छ ।
जाडोमा नेपालका बालबालिकामा भिटामिन डी को कमी हुन सक्छ । किनकि घाम कम लाग्छ, बच्चाहरू घरभित्रै बढी बस्छन् र धेरैजसोले पर्याप्त सूर्यको किरण प्राप्त गर्दैनन् । यसले हड्डी कमजोर हुने, बच्चा ढिलो हिँड्ने र बारम्बार बिरामी पर्न सक्छन् ।
भिटामिन डी को कमी भएका बच्चामा प्रायः हड्डी तथा मांसपेशीमा दुखाइ, बारम्बार थकान महसुस हुने, ढिलो बढ्ने, राति राम्रोसँग नसुत्ने, बारम्बार रुघाखोकी लाग्ने तथा गम्भीर अवस्थामा खुट्टा बाउडीने जस्ता लक्षण देखिन्छन् ।
यस्ता संकेत देखिएमा तुरुन्तै बाल रोग विशेषज्ञसँग जाँच गराउनु उपयुक्त हुन्छ । यसको कमी भएको पत्ता लगाउन भरपर्दो तरिका रगत जाँच हो ।
भिटामिन डीको कमी हुन नदिन बिहानको मधुरो घाममा बच्चालाई नियमित रूपमा १५–२० मिनेट खेलाउन सकिन्छ । हात, खुट्टा र अनुहार केही समय खुला राखेर घाममा राख्नुहोस् । बिहान ९–११ बजेसम्मको घाम पर्याप्त हुन्छ। यसरी राख्दा शरीरमा प्राकृतिक रूपमा भिटामिन डी उत्पादन गर्छ र हड्डी बलियो बनाउँछ ।
नवजात शिशुलाई चिकित्सकको सल्लाह अनुसार भिटामिन डी ड्रप दिन सकिन्छ । आफैंले मात्रा बढाउनु हुँदैन, किनकि अधिक मात्राले समस्या निम्त्याउन सक्छ ।