कागलाई धेरैले सामान्य चरा ठान्छन्, तर वैज्ञानिकहरूले यसलाई संसारकै बुद्धिमान चरामध्ये एक मानेका छन् । यसले मानिसको अनुहार सम्झन सक्छ, समस्या समाधान गर्न सक्छ र साथीहरूसँग सूचना आदानप्रदान पनि गर्छ। कागको दिमागी क्षमता कतिपय अवस्थामा बाँदरसँग तुलना गरिन्छ।
खाना जुटाउने अनौठो कला
काग निकै चलाख तरिकाले खाना जुटाउँछ। जापानमा गरिएको अध्ययनमा कागले ओखर सडकमा राखेर गाडीले फुटाएपछि ट्राफिक रोकिने समय कुरेर खाएको देखिएको थियो। नेपालमा पनि कागले फोहोर फाल्ने समय पर्खिने र सजिलो अवसर खोज्ने व्यवहार देखाउँछ।
आफैं उपकरण बनाउने चरा
कागले केवल उपकरण प्रयोग मात्र गर्दैन, आफैं बनाउँछ पनि। केही प्रजातिका कागले काठ वा काँडालाई बाङ्गो बनाएर हुक तयार पार्छन् र त्यसबाट कीरा निकाल्छन् । कुनै वस्तुलाई परिवर्तन गरेर उपयोगी बनाउने क्षमता उच्च बुद्धिमत्ताको संकेत मानिन्छ ।
समस्या समाधानमा माहिर
‘काग र घैंटो’को कथा वास्तविकतासँग पनि मिल्छ। अनुसन्धानमा कागले पानी भएको भाँडोमा ढुंगा हालेर पानी माथि ल्याएको देखिएको छ। यसले कारण र परिणाम बुझ्न सक्ने क्षमता रहेको प्रमाणित गर्छ। कागले जटिल समस्या समाधान गर्न पनि सक्छ।
कागको ‘शोक सभा’
कुनै काग मरेपछि वरिपरि अन्य काग जम्मा भएर कराउने गर्छन् । वैज्ञानिकहरूले यसलाई ‘क्रो फ्युनरल’ नाम दिएका छन् । उनीहरूले खतरा पहिचान गर्न वा समूहलाई सचेत गराउन यस्तो व्यवहार गर्ने विश्वास गरिन्छ। यसले कागको सामाजिक चेतना देखाउँछ ।
मानिसको अनुहार सम्झन्छ
कागले आफूलाई दुःख दिने व्यक्तिको अनुहार लामो समयसम्म सम्झन सक्छ । अनुसन्धानले कागले यस्तो जानकारी अन्य कागलाई पनि दिने देखाएको छ । नियमित खाना दिने मानिसप्रति भने काग मित्रवत् व्यवहार देखाउँछ। यसको स्मरण शक्ति निकै बलियो हुन्छ ।