
सोमाबर र मंगलरबारको दुई दिने जेनजी आन्दोलनमा धेरै पटक सुनिएको नाम हो, डिस्कर्ड । अहिले ‘प्रधानमन्त्री डिस्कर्डबाट छान्ने, संविधान च्याटजीपीटीबाट लेख्ने’ भन्दै मिमहरू पनि सामाजिक सञ्जालमा व्याप्त छन् ।

फेसबुक, इन्स्टाग्राम, टिकटक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जाल लोकप्रिय भएको नेपालमा डिस्कर्ड नवीन प्लेटफर्म हो । तर, अहिले नेपालबाट गुगल प्ले स्टोरमा सबैभन्दा बढी डाउनलोड गरिने एपमध्ये डिस्कर्ड नवौंमा उक्लिएको छ ।

मान्छेहरूले बढीजसो जेनजी डिस्कर्ड, जेनजी डिस्कर्ड नेपाल, जेनजी डिस्कर्ड लिङ्क, हामी नेपाल जस्ता कीवर्डहरू प्रयोग गरेर डिस्कर्डको खोजी गरिरहेका छन् ।

के हो डिसकर्ड ?
डिसकर्ड एउटा अनलाइन प्लेटफर्म हो, जहाँ मानिसहरूले भ्वाइस, भिडियो र टेक्स्ट च्याटमार्फत समुदाय वा साथीहरूसँग जोडिन सक्छन्।

डिस्कर्डले असहमतिका आवाजलाई मिलाएर नयाँ समुदाय बनाउने अवसर दिन्छ । यथार्थमा पनि डिस्कर्डले असहमति र विविधतालाई साझा च्याट प्लेटफर्ममार्फत प्रयोगकर्ताहरूलाई एकतामा बाँधिरहेको छ । जसको एक उदाहरण जेनजी आन्दोलन पनि बन्न पुग्यो ।

कसरी सुरु भयो डिसकर्ड ?
सन् २०१५ को कुरा हो । अमेरिकाका दुई युवा उद्यमी जेसन सिट्रन र स्ट्यानिस्लाभ भिस्नेवस्कीले एउटा प्लेटफर्म सार्वजनिक गरे-डिस्कर्ड ।

गेम खेल्दा अर्को गेमरसामु आवाज ढिलो पुग्ने, कहिले आवाज नै काटिने, कहिले सेटअप गर्नै झन्झटिलो हुने जस्ता समस्याहरू ती प्लेटफर्महरूमा हुन्थे।

त्यही असुविधाबाट दिक्क भएका युवाहरूलाई नयाँ विकल्प दिने उद्देश्यले जेसन र स्ट्यान (स्ट्यानिस्लाभको छोटो नाम)ले डिस्कर्ड बनाएका हुन् ।

नाममै लुकेको संकेत
अङ्ग्रेजी शब्द 'Discord' को अर्थ नै ‘मेल नभएको आवाज’ वा ‘असहमति’ भन्ने हुन्छ । तर जेसन र स्ट्यानले यो शब्दलाई सकारात्मक अर्थमा लिने प्रयास गरे । अनि सुरु दिनदेखि नै उनीहरूले प्रयोगकर्तालाई त्यस्तै आग्रह गरे ।

सुरुमा डिस्कर्ड गेमिङ समुदायमै लोकप्रिय भयो । लिग अफ लेजेन्ड, वर्ल्ड अफ वारक्राफ्ट जस्ता अनलाइन गेम खेल्नेहरूले सर्भर खोलेर (सरल भाषामा बुझ्दा ग्रुप) यसमा आफ्ना साथीहरूलाई बोलाउने गर्थे ।

सर्भरमा धेरै जना जोडिन मिल्ने भएकाले डिस्कर्डको दायरा केवल गेममै सीमित रहेन । विद्यार्थीहरूले पढाइको समूह बनाउन थाले ।

यो एप व्यापक बनेको भने कोभिड महामारीपछि हो । किनकि, त्यसबेला भौतिक रूपमा भेला हुन गाह्रो थियो । त्यही कारण अनलाइन मिटिङ, कार्यशाला र कार्यक्रमका लागि डिस्कर्ड उपर्युक्त प्लेटफर्म बन्यो ।

कलाकारहरूले आफ्ना काम देखाउन डिस्कर्ड प्रयोग गर्न थाले । प्रविधिक क्षेत्रका व्यक्तिले कोडिङ र नयाँ आविष्कारबारे छलफल गर्न प्रयोग गर्न थाले ।

विशेषता
यो एपमा भ्वाइस, भिडियो र टेक्स्ट च्याट मार्फत साथी वा समुदायसँग तुरुन्तै कुराकानी गर्न सकिने सुविधा छ ।