
वर्षायाममा सबैभन्दा डर लामखुट्टेको टोकाईबाट हुन्छ। किनकि, यसको टोकाईबाट डेंगु, मलेरिया र औलो जस्ता संक्रामक रोग लाग्न सक्छ । जसमध्ये स्वास्थ्यलाई सबैभन्दा जोखिम पार्ने डेंगु हो ।

डेंगु कसरी हुन्छ ?
डेंगु पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । पोथी लामखुट्टेले पहिले नै संक्रमित व्यक्तिलाई टोक्दा भाइरस लामखुट्टेमा प्रवेश गर्छ। र यो रोग तब फैलिन्छ जब त्यो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ, र भाइरस व्यक्तिको रगतबाट फैलिन्छ ।

डेंगुको लक्षण
खानामा अरुची, उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने जस्ता लक्षणलाई डेंगुको शंका गर्न सकिन्छ । डेंगुको पुष्ठी भएमा लक्षण सामान्य छ भने झोलिलो खानेकुरा खाएर आराम घरमै पनि गर्न सकिन्छ ।

तर, लगातार वान्ता हुनु, पेट असाध्यै दुख्नु, रगत परीक्षण गर्दा प्लेटलेटको संख्या संख्या घटेको देखियो भने तत्काल उपचार र निगरानी आवश्यक पर्ने हुँदा तत्काल अस्पताल जानु पर्छ । यस्तोमा घर बस्दा ज्यान नै जाने जोखिम हुनसक्छ ।

तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

उपचार
डेंगुको निश्चित उपचार छैन । यसको लक्षण अनुसार उपचार गरिन्छ । सामान्यत डेंगु हुँदा असाध्यै शरीर दुख्ने भएकाले सिटामोल खान दिइन्छ ।