+

के क्याल्सियम खाँदैमा हड्डी बलियो हुन्छ ?

क्याल्सियम र भिटामिन डी

क्याल्सियम शरीरमा पर्याप्त मात्रामा पाइने एक खनिज पदार्थ हो, जसले हाड र दाँतको ९९ प्रतिशत भाग ओगटेको हुन्छ। क्याल्सियमको महत्त्व हाम्रो शरीरमा त्यतिमा मात्र सीमित नभई मांसपेशी, स्नायु प्रणाली, मुटुको चाल र रगत जम्ने प्रक्रियामा समेत विशेष छ। यद्यपि क्याल्सियम हाम्रो शरीरमा भने बन्दैन ।

हामीले खाने माछा, मासु, दुग्धजन्य पदार्थ र हरियो सागपात यसका प्रमुख स्रोत हुन्। यिनै खाद्य पदार्थहरूले हाम्रो आवश्यकता परिपूर्ति गरिरहेको हुन्छ । हाम्रो हड्डी संरचनागत आधार दिने स्थिर खम्बा मात्र नभई एक गतिशील तन्तु हो। यसमा नयाँ कोष बन्ने र पुराना हराएर जाने क्रम निरन्तर चलिरहेको हुन्छ ।

Advertisement

बुढेसकालमा सबैले क्याल्सियम खानैपर्छ ?

बुढेसकालमा सबैले क्याल्सियम खानैपर्छ भन्ने होइन । शरीरमा क्याल्सियमको आवश्यकता उमेरसँगै बढ्न सक्छ, तर सप्लिमेन्ट चाहिन्छ कि छैन भन्ने कुरा व्यक्तिको आहार, स्वास्थ्य अवस्था, हड्डीको घनत्व र चिकित्सकीय सल्लाहमा भर पर्छ ।

के भाँचिएको हड्डी निको पार्नका लागि छुट्टै क्याल्सियम खानुपर्छ ?

भाँचिएका हड्डीको प्लाष्टर वा अप्रेसन गरी उपचार गरेपश्चात् हड्डीको जोडिने प्रक्रियाका निम्ति क्याल्सियमको आवश्यकता पर्छ । हालसम्म प्राप्त वैज्ञानिक अध्ययनहरूले शारीरिक रूपले स्वस्थ व्यक्तिमा थप क्याल्सियम खुवाउँदा हड्डी छिटो जोडिन्छ वा निको हुन्छ भन्ने खाले कुनै स्पष्ट प्रमाण दिनसकेको छैन ।

बजारमा सजिलै पाइन्छ, खाएर फरक पर्छ र ?

आवश्यकताभन्दा बढी र लामो समयसम्म क्याल्सियमको प्रयोग गरेमा यसले पेट सम्बन्धी समस्या जस्तै– कब्जियत, पातलो दिसा आदि हुनसक्छ । भिटामिन डी र क्याल्सियमको बढी प्रयोगले मिर्गौलाको पत्थरीको सम्भावना समेत बढाउने देखिएको छ।

साथै, क्याल्सियमले कैयौं सामान्य रूपमा प्रयोग हुने सुगर, प्रेसर, थाइरोइड, छारे रोगका औषधि र विभिन्न एन्टिबायोटिकलाई समेत असर पारी ती औषधिको क्षमतामा ह्रास ल्याउन सक्छ ।

त्यसो भए के कसैलाई पनि क्याल्सियम आवश्यक छैन त ?

क्याल्सियम सामान्यतया भिटामिन डीको कमीबाट हुने रिकेट्स, ओस्ट्योमालासिया लगायत हड्डीका अवस्थाहरूमा आवश्यक पर्छ । थाइरोइडको अपरेसनपश्चात् विशेष जटिलता आएका र दीर्घकालीन मिर्गौलाका बिरामीमा पनि क्याल्सियम लामो समयसम्म आवश्यक पर्छ ।

वृद्ध, रजनोवृत्ति भएका महिला, गर्भवती, स्तनपान गराइरहेका महिला, लामो समयसम्म स्टेरोइड खाएका बिरामी, पेट र आन्द्राको विशेष समस्या र पोषण नपुगेका बिरामीमा आवश्यकता अनुसार क्याल्सियम चलाउनुपर्ने हुन्छ ।