ग्रीन टी अहिले स्वास्थ्यवर्द्धक पेयको रुपमा लोकप्रिय छ । कसैले यसलाई मोटोपन घटाउन, कसैले रक्तचाप नियन्त्रण गर्न त कसैले क्यान्सरको जोखिम कम गर्न पिउने गरेका छन् ।
तर ग्रीन टिले चमत्कारिक रुपमा रोग निको पार्ने होइन । सही खानपान र स्वस्थ जीवनशैलीसँगै नियमित सेवन गर्दा यसले शरीरलाई फाइदा पुर्याउन सक्छ ।
ग्रीन टिमा हुन्छ शक्तिशाली 'एन्टिअक्सिडेन्ट'
ग्रीन टिमा एपिगालोक्टेचिन ग्यालेट (ईजीसीजी) नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरीरमा हुने फ्रि रेडिकल्सबाट कोषिकालाई जोगाउन सहयोग गर्छ । यही कारण ग्रीन टिले क्यान्सरको जोखिम कम गर्न भूमिका खेल्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
रक्तचाप र मुटुका लागि उपयोगी
ग्रीन टिमा पाइने पोलिफेनोलले रक्तनलीलाई स्वस्थ राख्न र उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्न सक्छ । नियमित रुपमा ग्रीन टि पिउने बानीले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।
मोटोपन घटाउन कसरी सहयोग गर्छ ?
ग्रीन टिमा पाइने क्याटेचिन र क्याफिनले शरीरको मेटाबोलिज्म सुधार गर्न सहयोग गर्छ । यसले शरीरमा जम्मा भएको बोसो प्रयोग गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सक्छ ।
तर केवल ग्रीन टि पिएर मात्र तौल घट्दैन । नियमित व्यायाम र सन्तुलित खानपानसँगै सेवन गर्दा यसको प्रभाव देखिन सक्छ ।
ग्रीन टी पिउने सही तरिका
ग्रीन टी दिनमा तीनदेखि चार कपसम्म पिउन सकिन्छ । यसलाई खाली पेटमा, खाना खाँदा वा खाना खानेबित्तिकै पिउनु हुँदैन । खाना खानुभन्दा ३० देखि ४५ मिनेट अघि वा पछि पिउनु उपयुक्त हुन्छ । तातो पानीमा दुई–तीन मिनेट भिजाएर पिउन सकिन्छ ।
ध्यान दिनुपर्ने कुरा
ग्रीन टी स्वास्थ्यका लागि लाभदायक भए पनि यो औषधि होइन । अत्यधिक सेवन गर्दा समस्या हुन सक्छ । गर्भवती महिला, कम रक्तचाप भएका व्यक्ति तथा नियमित औषधि सेवन गरिरहेकाले चिकित्सकको सुझाव लिनुपर्छ ।
यस सम्बन्धि विस्तृत जान्नका लागि दिइएको लिंकमा थिच्नुहोस् । लिंक : www.onlinekhabar.com/2023/12/1406430