
निद्रालाई स्वस्थ जीवनको एक महत्वपूर्ण कडीको रुपमा लिएको छ । जब हामी गहिरो निद्रामा पुग्छौं, हामी विचारसून्य स्थितीमा हुन्छौं । यो भनेको पूर्ण विश्रामको अवस्था हो ।

गहिरो निद्रा सामान्यत हामी सुतेको प्रारम्भिक चरणमा लाग्छ । जस्तो हामी ८ बजे सुत्यौं भने हामीलाई लाग्ने सुरुवाती निद्रा गहिरो हुन्छ ।

गहिरो निद्रा केही समय, केही घण्टाको मात्र हुन्छ । राती चाडै सुतेका छौं भने हामीले गहिरो निद्रामा जान सक्छौं । जति धेरै गहिरो निद्रामा जान सक्यो उत्तिनै राम्रो हो ।

गहिरो निद्रापछिको चरणमा भने हामी सपना देख्न थाल्छौं । सपना देख्नु भनेको गहिरो निद्रा भंग भइसकेको अवस्था हो । यतिबेला हाम्रो अवचेतन मन, विचार चलिरहेको हुन्छ ।

जतिपनि सपना देखिन्छ, त्यसलाई कटाएर मात्र निद्राको गणना गर्नुपर्ने हुन्छ । यसर्थ सपना देखेको अवस्था शारीरिक स्वास्थ्यका हिसाबले रामो मानिदैन ।

प्राय कमजोर वा डराएको व्यक्तिहरुले बढी सपना देख्छन् । यसले उनीहरुको अवचेतन मनलाई पनि प्रतिविम्बित गर्छ । सपनालाई विश्लेषण गरेर उसको मनमा कुन किसिमको वैचारिक तरंग चलिरहेको छ भन्ने थाहा पाउने गरिन्छ ।

त्यसो भए कसरी गहिरो निद्रा पाउने ? यसका लागि विचारलाई नियन्त्रित गर्नुपर्छ । ध्यान विधिबाट विचार नियन्त्रित हुन्छ । शारीरिक कष्ट र पीडाबाट बाहिर आउनुपर्छ ।

मानसिक तनाव कम गर्नुपर्छ । शरीरको मल, विजातिय पदार्थ हटाउनुपर्छ । साथसाथै, मांशपेसीलाई पनि राम्ररी व्यायाम पुगेको हुनुपर्छ । यस्तो अवस्थामा गहिरो निद्रा पाउन सकिन्छ ।