+

जन्मेदेखि ५ वर्षसम्म : कुन उमेरमा कुन खोप ?

बच्चाको रोगप्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । त्यसैले, जन्मिएदेखि निश्चित उमेरमा खोप लगाउनु अत्यन्त महत्वपूर्ण हुन्छ । समयमै खोप लगाउँदा क्षयरोग, पोलियो, दादुरा, रुबेला, टाइफाइड, जापानिज इन्सेफलाइटिसलगायत गम्भीर रोगबाट बचाउन मद्दत गर्छ ।

जन्मिएपछि ६ हप्तासम्म

बच्चा जन्मिएपछि बीसीजी खोप दिइन्छ, जसले क्षयरोगबाट जोगाउन मद्दत गर्छ । त्यसपछि ६ हप्तामा रोटाभाइरस, पोलियो, डिफ्थेरिया, कालीखोकी, टिटेनस, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी र निमोकोकलविरुद्धका खोपको पहिलो मात्रा दिइन्छ ।

Advertisement

१० र १४ हप्तामा खोपको अर्को मात्रा

१० हप्तामा रोटाभाइरस, पोलियो र डिफ्थेरिया, कालीखोकी, टिटेनस, हेपाटाइटिस बी तथा हेमोफिलस इन्फ्लुएन्जा बीविरुद्धको संयुक्त खोपको दोस्रो मात्रा दिइन्छ । १४ हप्तामा पोलियोको तेस्रो, निष्क्रिय पोलियोको दोस्रो र संयुक्त खोपको तेस्रो मात्रा दिइन्छ ।

९ महिनामा खोपको महत्वपूर्ण चरण

९ महिनामा दादुरा–रुबेला खोपको पहिलो मात्रा दिइन्छ । यही उमेरमा पोलियोविरुद्धको आंशिक मात्रा र निमोकोकल कन्जुगेट खोपको बुस्टर मात्रा पनि दिइन्छ । दादुरा अत्यन्त संक्रामक रोग भएकाले यसको खोप तोकिएको समयमा लगाउनु महत्वपूर्ण हुन्छ ।