
कार्डियाकले ‘मुटु’ र ‘अरेस्ट’ले बन्द हुने जनाउँछ । यो आपतकालीन अवस्था हो । यो अवस्थामा मुटुको काम गर्न छाडेपछि शरीरमा अक्सिजन पुग्न पाउँदैन र व्यक्ति बेहास वा अर्धचेत हुन्छ ।

यस्तोमा तत्काल उपचार नभए केही समयमै मृत्यु हुनसक्छ । त्यसकारण यसलाई ‘सडन कार्डियाक अरेस्ट’ पनि भनिन्छ।

कारण
कार्डियाक एरेस्टको अवस्था आउने मुख्य कारक हृदयघात हुनसक्छ । हृदयघात हुने बित्तिकै मुटुको चाल बिग्रिन्छ । चाल बिग्रिएपछि मुटुले काम गर्न छाड्छ । जसकारण व्यक्तिको मृत्यु हुन्छ ।

मुटुभित्र बायाँतर्फको तल्लोपट्टिको भल्ब खुम्चिनु वा राम्रोसँग नखोलिनुलाई एरोर्टिक स्टेनोसिस भनिन्छ । यसले पनि रगतको प्रभावलाई कम गर्ने वा बन्द गर्न सक्छ । बन्द भएमा कार्डियाक अरेस्ट हुनसक्छ ।

कोरोनरी धमिनीमा समस्या
कुनै कारणवश धमिनीमा कोलेस्टेरोल र बोसो जम्न थालेपछि धमिनी साँघुरिन्छ । यस्तो अवस्थामा रक्त सञ्चारमा अवरोध आउँछ वा ठप्प हुन्छ । यो दुई अवस्थाले कार्डियाक अरेस्ट गराउन सक्छ ।

मुटुको मांसपेशी मोटो हुनु
मांसपेशी मोटो हुँदा मुटुमा रक्तप्रवाह हुन पाउँदैन र मुटुले काम गर्न छाड्छ र तत्काल मृत्यु हुन्छ। यो समस्या जन्मजात तर दुर्लभ समस्या हो । विश्वव्यापी रूपमा यो ५०० जनामा एक जनालाई हुनसक्छ ।

युवामा अचानक देखिनु कारण
अत्यधिक व्यायाम वा खेलकुद (जस्तै म्याराथन, फुटबल) ले मुटुमा अचानक दबाब परी लुकेको मुटुको समस्या छ भने, कार्डियाक अरेस्ट हुन सक्छ । डिहाइड्रेशन वा इलेक्ट्रोलाइट असन्तुलन पोटासियम/म्याग्नेसियमको कमीले पनि यो समस्या तत्काल हुनसक्छ।

केही युवामा कुनै स्पष्ट कारण नदेखिन सक्छ, तर लुकेका आनुवंशिक वा विद्युतीय समस्याहरू जिम्मेवार हुन सक्छन् । नियमित स्वास्थ्य जाँच नहुँदा यस्ता समस्याहरू पत्ता लाग्दैनन्।

कार्डियाक अरेस्ट भएको कसरी थाहा पाउने ?
अचानक बेहोस भएको व्यक्तिको नाडी छाम्दा चलेको छैन, श्वासप्रश्वास चलेको छैन, कुनै चाल छैन भने कार्डियाक अरेस्टकै लक्षण भनेर बुझिन्छ ।

लक्षण
प्रमुख लक्षण केहि सेकेन्डभित्रै बेहोस हुनु हो। व्यक्तिको श्वासप्रश्वास बन्द हुन्छ र नाडी चल्न छोड्छ। कुनै प्रतिक्रिया नदिई अचेत हुने अवस्था देखिन्छ।

कहिलेकाहीं पूर्वलक्षणहरू जस्तै छाती दुख्ने, चक्कर लाग्ने, वा अनियमित मुटुको धड्कन देखिन सक्छ। यस्तो अवस्थामा तुरुन्त सीपिआर दिन सकिन्छ ।