सानातिना कुरामा झर्किनु
बालबालिका तनावमा हुँदा सामान्य कुरामै झर्किने, चिच्याउने वा हरेक कुरामा जिद्दी गर्ने व्यवहार देखाउन सक्छन् । आफ्नो भावना व्यक्त गर्न नसक्दा उनीहरूको रिस र चिडचिडापन व्यवहारमार्फत बाहिर देखिन सक्छ ।
कक्षामा जान बहाना बनाउनु
नयाँ सिकाइको कक्षा वा गतिविधिमा जानुअघि बालबालिकाले विभिन्न बहाना बनाउन थाल्न सक्छन् । कक्षामा जान मन नलाग्ने, बिरामी भएको बताउने वा अरू कुनै कारण देखाएर पन्छिन खोज्नु तनावको संकेत हुन सक्छ ।
टाउको वा पेट दुख्नु
स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य भए पनि बालबालिकाले बारम्बार टाउको वा पेट दुखेको गुनासो गरिरहन सक्छन् । कुनै स्पष्ट शारीरिक कारण नभए पनि यस्तो समस्या दोहोरिरहेमा त्यसको पछाडि तनाव वा मानसिक दबाब हुन सक्छ ।
निद्रामा समस्या देखिनु
तनावमा रहेका बालबालिकालाई राति अबेरसम्म निद्रा नलाग्न सक्छ । निदाइसकेपछि पनि झस्किने वा पटक-पटक बिउँझिने हुन सक्छ । बिहान उठ्दा पर्याप्त आराम नगरेजस्तो थकित महसुस गर्नु पनि तनावसँग जोडिएको संकेत हुन सक्छ ।
अतिरिक्त क्रियाकलाप गर्न डराइरहनु
‘यदि मेरो प्रदर्शन सबैभन्दा राम्रो भएन भने के होला ?’ भन्ने डर बालबालिकाको मनमा रहिरहन सक्छ । पढाइ, खेलकुद वा अन्य गतिविधिमा आफू अरूभन्दा कमजोर देखिएला भन्ने चिन्ताले उनीहरूलाई निरन्तर दबाबमा राख्न सक्छ ।
हार्ने सोचले आत्तिनु
हार्ने वा अरूभन्दा पछाडि पर्ने सोचले बालबालिका अत्यधिक आत्तिन सक्छन् । प्रतिस्पर्धामा सहभागी हुन डराउने, सानो असफलतालाई पनि ठूलो समस्याका रूपमा लिने वा परिणामप्रति अत्यधिक चिन्ता गर्ने व्यवहार तनावको संकेत हुन सक्छ ।