+

कस्तो छ तपाईंको ओछ्यान ?

हाम्रो पूरा जिन्दगीको करिब एक तिहाइ समय ओछ्यानमै बित्छ । त्यति लामो समय रहनुपर्ने स्थान कस्तो छ भन्ने कुराले पक्कै पनि हाम्रो जीवनका अन्य पक्षहरूलाई प्रभावित पार्छ ।

असहज ओछ्यानले निद्राको गुणस्तर घटाउँछ र दीर्घकालीन स्वास्थ्य समस्या जस्तै ढाड दुखाइ, तनाव र एलर्जी निम्त्याउछ । त्यसैले ओछ्यान सहज, सफा र आरामदायी हुनु अनिवार्य छ ।

Advertisement

कस्तो हुनुपर्छ ?

ओछ्यानको मुख्य भाग ‘डस्ना’ हो, जसले शरीरलाई सहारा दिन्छ । यो कपास, ‘मेमोरी फोम’, स्प्रिंग वा प्राकृतिक रबर ‘लेटेक्स’ को संयोजनबाट बनेको हुन सक्छ । यसले मेरुदण्डको प्राकृतिक वक्रतालाई समर्थन गर्नुपर्छ ।

धेरै नरम म्याट्रेसले कम्मरमा तनाव दिन्छ भने धेरै कडाले दबाब बढाउँछ । मध्यम कडा म्याट्रेसले निद्राको गुणस्तर सुधार्छ, दुखाइ घटाउँछ र मुड राम्रो बनाउँछ ।

धुलो एलर्जी वा दमको समस्या भएकाहरूका लागि जैविक कपास वा हाइपोएलर्जेनिक फोमबाट बनेका म्याट्रेस र तकियाहरू उपयुक्त हुने प्राकृतिक चिकित्सक पाण्डे बताउँछिन् । उनको अनुसार यस्ता म्याट्रेसले धुलोमा रहेका सुक्ष्म जीवाणु र अन्य एलर्जेनहरूको सम्पर्क कम गर्छन् ।

सिरक हल्का तर न्यानो हुनुपर्छ, जसमा कपासजस्ता हावा पास हुने सामग्री प्रयोग गरिएको हुन्छ । भारी सिरकले शरीर थिच्छ र निद्राको सहजता बिगार्छ । सिरकको खोल पनि प्राकृतिक कपडाबाट बनेको नै राम्रो हुने पाण्डे बताउँछिन् ।

पाण्डेका अनुसार सिरानीले टाउको र घाँटीलाई सही अवस्थामा राख्नुपर्छ । यसको उचाइ कुमको स्तरसँग मिल्नुपर्छ र कभर सधैं सफा तथा सहज सामग्रीको हुनुपर्छ ।

ओछ्यानको आकार पनि महत्वपूर्ण हुन्छ । यदि साँघुरो बेडमा दुई वा दुई भन्दा बढी कोचिएर सुतेको छ भने पनि निद्रामा बाधा पुग्छ ।

निद्रा र ओछ्यानको विज्ञान : स्वास्थ्य प्रभाव

सही म्याट्रेसले काँध, कमर र नितम्बमा पर्ने दबाब घटाउँछ, मेरुदण्डलाई सन्तुलित राख्छ र शरीरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्छ । अपर्याप्त सहाराले खराब मुद्रा, असहजता र दीर्घकालीन ढाड दुखाइ निम्त्याउछ ।

राम्रो विछ्याउनाले रक्त प्रवाह सहज बनाउँछ, जसले झमझमाउने वा सुन्निने समस्या घटाउँछ । समायोजन मिल्ने बेडले सास फेर्न सजिलो बनाउँछ र घुर्ने समस्या कम गर्छ ।