दाम्पत्य सम्बन्धलाई सुमधुर र प्रगाढ राख्ने तत्व के-के हुन् ? हामी फ्याट्टै भन्न सक्छौ, प्रेम । एकअर्कामा गरिने प्रेमले नै दम्पतीलाई जोड्ने हो । त्यससँगै विश्वास, समर्पण र अन्तरंग सम्बन्धले दाम्पत्य जीवनलाई खुसी एवं सुखी तुल्याउँछ । तर, यतिमात्र काफी छ त ?
१. एकसाथ मर्निङ वाक
सुन्दा सामान्य लाग्छ, तर आफ्नो पार्टनरसँग जब बिहान एकसाथ कतै दौडन निस्कनुहुन्छ, हिँड्नुहुन्छ भने बेग्लै रोमाञ्चकता अनुभव हुन्छ । साथै, मर्निङवाकको क्रममा हाँसीमजाक गर्न पाइन्छ । त्यसले दम्पतीको सम्बन्ध थप कसिलो बनाउन भूमिका खेल्छ ।
२. भान्सामा एकसाथ
हरेक दिन एकनासे काम गर्दा गर्दा उनीहरुलाई दिक्क पनि लाग्दो हो । यद्यपी, भान्समा पार्टनरको उपस्थिती हुने हो भने, त्यो दिक्दारी हट्न सक्छ । भान्साको वातावरण थप रोमाञ्चक र प्रेममय हुन्छ ।
सम्भव भएसम्म पतिले पनि भान्साको काममा सघाउन सक्छन् । यसले पत्नीको बोझ हल्का हुने मात्र होइन, भान्साको माहौल नै रमाइलो हुन्छ । साथसाथै सहयोगको भावना पनि बढ्छ । भान्सामा नयाँ-नयाँ रेसेपी तयार गर्न सकिन्छ ।
३. एकसाथ शयनकक्षमा
अक्सर के हुन्छ भने, रातको खानापछि पति टेलिभिजन हेर्न थाल्छन् वा ओछ्यानमा पुग्छन् । पत्नीलाई भान्सा सम्हाल्नमै भ्याइ नभ्याई हुन्छ । यसले पनि दम्पतीबीच कटुता ल्याउने हो । त्यसैले भान्साको काममा पत्नीलाई सहयोग गरौं । र, शयन कक्षामा एकसाथ जाने अभ्यास गरौं ।
४. एकसाथ बनाऔं योजना
घरमा पाहुना निम्त्याउँदै हुनुहुन्छ वा कतै घुम्ने सोंचमा हुनुहुन्छ भने, त्यसमा एकलौटी निर्णय नगरौ । पार्टनरको उपस्थितीमा मात्र कुनैपनि योजना बनाउनु राम्रो हो । घरको आर्थिक हिसाब किताबदेखि बालबच्चा पढाउने कुरामा पनि एकअर्काको राय-सुझाव लिनुपर्छ । यसले सम्भावित कलहबाट बचाउँछ । साथै नयाँ आइडिया समेत आउँछ ।