
आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।

करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए । वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।

युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।

सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । उनीहरुका वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।

डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।

दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।

वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।

सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

२०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।

५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।