के हो त यो पीएफटी परीक्षण विधि ? किन गरिन्छ ?
यो एउटा यस्तो प्रविधि हो, जसले फोक्सोले काम कस्तो गरिरहेको छ भनेर जाँच गरिन्छ । फोक्सोमा भएका समस्यादेखि फाेक्साेकाे समग्र स्वास्थ्यबारे यसले जानकारी दिन्छ । त्यसाे त फोक्सोले बाह्य वातावरणबाट हावाको रुपमा श्वास लिने र छोड्ने काम गर्छ । यसै क्रममा शरीरलाई चाहिने अक्सिजन पनि ग्रहण गर्छ ।
स्पाइरोमेट्री
यसले तपाईंले कति श्वास लिन र फाल्न सक्नुहुन्छ भन्ने मापन गर्छ । फोक्सोभित्र कति हावा रहन्छ भन्ने पनि अनुमान गर्छ ।
फोक्सोको भोल्युम वा बडी प्लेथिस्मोग्राफी
यसले फोक्सोमा विभिन्न अवस्थामा कति हावा रहन्छ भनेर मापन गर्छ । श्वास लिँदा र फाल्दा फोक्सोभित्रको हावाको मात्रा कति हुन्छ भनेर निर्धारण गर्छ।
कार्डियोपल्मोनरी व्यायाम परीक्षण
यस परीक्षणले व्यायाम वा शारीरिक क्रियाकलाप गर्दा मुटु, फोक्सो र मांसपेशीहरू कसरी काम गर्छन् भनेर जाँच गर्छ । यी परीक्षणहरू फोक्सोको स्वास्थ्य मूल्यांकन गर्न, फोक्सोसम्बन्धी रोगहरू पत्ता लगाउन र उपचार प्रभावकारिता जाँच गर्न प्रयोग गरिन्छ । यी मध्ये 'स्पाइरोमेट्री' परीक्षण सबैभन्दा बढी प्रयोग गरिन्छ ।
कस्तो बेलामा यी परीक्षण हुन्छन् ?
- खोकी लगातार लाग्नुसँगै खकार पनि जमेमा वा खोकी लागेसँगै खकार पनि आएमा । - छाती कसिलो, दुख्ने र चाप बढ्ने भएमा । - श्वास फेर्न कठिन हुने वा छिटो-छिटो श्वास फेर्ने भएमा । - गहिरो श्वास लिँदा दुखेको वा असहज अनुभव हुँदा । - स्याँ स्याँ आइरहेमा । - कुनै समस्या नभए पनि नियमित परीक्षणका क्रममा यो परीक्षण गरी फोक्सोको अवस्था हेरिन्छ ।
यस बाहेक सास फेर्न समस्या भइरहेको छ तर कसरी भन्ने पत्ता नलागेको अवस्थामा 'पीएफटी' गरिन्छ । श्वास–प्रश्वास तथा फोक्सो सम्बन्धी रोग लागेपछि उपचार गराइरहेको व्यक्ति फलोअपमा आउँदा पनि पीएफटी गरिन्छ । फोक्सोको क्षमतामा कत्तिको सुधार भइरहेको छ भनेर हेर्न यो जाँच गरिन्छ ।
धूम्रपान गर्ने मान्छे ४५ वर्षमाथिको छ र उसको अप्रेसन गर्नुपर्ने अवस्था आयो भने अप्रेसन गर्नुअघि त्यो व्यक्तिको पीएफटी गर्ने गरिन्छ ।