+

चकित पार्ने यी ५ प्राणीको रोचक तथ्य

१. बाघ

धर्तीको सबैभन्दा शक्तिशाली जंगली जनावरमध्ये एक हो । लचिलो र बलियो शरीर, शक्तिशाली खुट्टा र मांसपेशीले गर्दा बाघले १०–१२ मिटर टाढाबाट पनि उफ्रेर सिकारलाई एकै झमटमा समात्न सक्छ ।

बाघ मुख्यतः एकल शिकारी । आफ्नो तीखो गन्ध, सुन्ने क्षमता र चाल पत्ता लगाउने कुशलताले सिकारको नजिक पुग्छ । बल, गति र चतुर्याँइ नै यसको सबैभन्दा ठूलो शक्ति हो । तर, यही एकल जीवनशैली र ठूलो शरीरलाई थेग्न ठूलो परिमाणमा मासु चाहिने भएकाले कहिलेकाहीँ लगातार शिकार नपाउँदा यो कमजोर पनि बन्न सक्छ ।

Advertisement

२. ‘भ्याम्पायर स्क्विड

‘भ्याम्पायर स्क्विड’, नाम सुन्दा रगत चुस्ने भयानक जीव जस्तो लाग्न सक्छ । तर यसले न त रगत चुस्छ, न त दाँतले टोक्छ । यो मरेका साना जीव, झिँगा, माछाका अण्डा, बोटबिरुवाका टुक्रा, र सूक्ष्म मल पदार्थ खाएर बाँच्छ।

रोचक कुरा, यसको शरीर कालो-रातो ‘केप’ जस्तो झिल्लीले ढाकिएको हुन्छ । त्यो झिल्लीमा नीलो र सेतो प्रकाश रातको समुद्रभित्र झिलिमिली तारा जस्तै चम्किन्छ । यो प्रकाश सौन्दर्य मात्र नभई यो जीवको अस्त्र पनि हो, खतरा नजिक आउने बेला स्क्विड आफ्नो झिल्ली फिँजाएर १००० मिटर गहिरो अँध्यारोमा लुक्न माहिर हुन्छ ।

३. गोही

गोही भावनाका कारण रुँदैनन् । खाना खाने बेला बड़गारो चलाउँदा मांसपेशीले आँसु ग्रन्थीमाथि दबाब दिने भएकाले आँखाबाट आँसु झर्छ। यही कारण कोही मानिस अनावश्यक रूपमा धेरै रोए भने ‘गोहीका आँसु’ भन्ने भनाइ प्रचलित भएको हो ।

रोचक कुरा, गोहीका आँसु आँखालाई सुख्खा हुन दिँदैनन् र शरीरका विषाक्त पदार्थ हटाउन पनि मद्दत गर्छन् । गोहीको आयु ७० वर्षभन्दा बढी हुन्छ र तिनीहरू आफ्नो सिकारलाई डुबाएर मार्ने अद्भुत रणनीतिका लागि चिनिन्छन् ।

४. डल्फिन

डल्फिनलाई अत्यन्त बुद्धिमान र सामाजिक समुद्री प्राणी पनि भनिन्छ। किनकि, समूहमा रमाइलो गर्दै खेल्ने, शिकार गर्ने र कुराकानी गर्न सक्ने क्षमता निकै चाखलाग्दो छ।

मान्छेसँग गहिरो मित्रता कायम गर्न र संकेतमार्फत जटिल संवाद गर्न सक्ने यसको अद्भुत खुबीले मानिसहरूलाई समुद्रको यो चतुरायी प्रति मोहित बनाउँछ। अल्ट्रासोनिक ध्वनि प्रयोगले वरिपरि रहेका वस्तु, शिकार र सम्भावित जोखिम पत्ता लगाउने यसको अर्को विशेषता हो ।

५. गाई

गाईहरूको भावना र सम्बन्ध हामीले सोचेभन्दा धेरै गहिरो हुन्छ। जब एक गाई तनाव वा चिन्तामा हुन्छ, वरिपरिका गाईहरूले पनि त्यो तनाव महसुस गर्छन् । यी मिलनसार जनावर एकअर्कामा सहारा, मित्रता र सुरक्षा खोज्छन् ।

सबैभन्दा बढी पीडा उनीहरूले आफ्ना बाछाबाट अलग हुँदा महसुस गर्छन् र तिनलाई खोज्दै कराउँछन्, जसले उनीहरूको गहिरो मातृ प्रेम स्पष्ट देखाउँछ ।