एक स्वस्थ मान्छेलाई दिनमा धेरै पटक पिसाब लाग्छ । पिसाब लाग्ने समय, यसको मात्रा तथा रङ आदि कुराहरू हाम्रो खानपान तथा शारीरिक क्रियापकलापले पनि निर्धारण गर्छ । स्वास्थ्यप्रति सचेत मानिसले पिसाबको रङ, मात्रा र गन्धजस्ता साना कुरामा पनि ध्यान दिनुपर्छ ।
पिसाब गर्दा सतहमा देखिने फिँजलाई धेरैले सामान्य ठान्छन् । आधुनिक चिकित्सा विज्ञानले भने यसलाई सधैं सामान्य मान्दैन । पिसाबमा देखिने फिँज कहिलेकाहीँ मिर्गौला रोगको सुरुवाती संकेत पनि हुन सक्छ ।
के कारण बन्छ पिसाबमा फिँज ?
फिँज बन्नु एउटा भौतिक रासायनिक प्रक्रिया हो । सामान्य पानीमा ‘सर्फेस टेन्सन’ उच्च हुने भएकाले फिँज जस्तो टिक्दैन । तर पिसाबमा जब विशेषगरी प्रोटिन वा फस्फेट बढ्छन्, सर्फेस टेन्सन घट्छ र स्थायी फिँज बन्न थाल्छ ।
रोग नहुँदा पनि फिँज देखिन सक्ने अवस्था
पिसाबमा फिँज देखिनु सबै अवस्थामा रोग हो भन्ने मिल्दैन । सामान्य अवस्थामा देखिने फिँज अस्थायी हुन्छ, केही सेकेन्डमै हराउँछ । त्यसबाहेक अर्को पटक पिसाब गर्दा दोहोरिँदैन ।
कुनै स्वास्थ्य समस्या नभए पनि निम्न अवस्थामा पिसाबमा फिँज देखिन सक्छ । जस्तो कि, - धेरै जोड लगाएर वा छिटो पिसाब गर्दा - शरीरमा पानीको कमी हुँदा - धेरै समय पिसाब रोकेका कारण पिसाब गाढा हुँदा
फिँज देखिनु रोगको संकेत
पिसाबमा फिँज देखिएको छ र लामो समयसम्म त्यो टिकिरहन्छ भने त्यसको मुख्य कारण पिसाबमा प्रोटिन हुनु हो । मिर्गौलामा ‘ग्लोमेरुलस’ नामको एक लेयर अर्थात् झिल्ली हुन्छ । सामान्य अवस्थामा यसले प्रोटिनलाई पिसाबमा जान दिँदैन ।
तर जब यो संरचना क्षतिग्रस्त हुन्छ, एल्बुमिन पिसाबमा जान थाल्छ । यसो हुँदा पिसाबमा स्थायी फिँज देखिन्छ । यसले मिर्गौलासम्बन्धी रोग निम्त्याउनुका साथै पूर्णरूपमा मिर्गौला बिगार्ने जोखिम रहन्छ ।
फस्फेच्युरिया : पिसाबमा फस्फेट देखिनु
फस्फेच्युरिया भनेको पिसाबमा फस्फेटको मात्रा बढ्नु हो । यो समस्यालाई प्रायगरी हामीले बेवास्ता गरिरहेका हुन्छौँ ।
प्राप्त प्रमाणहरू अनुसार, ‘अल्कालीन पीएच’ भएको पिसाबमा क्याल्सियम फस्फेटका क्रिस्टलहरू बन्न सक्छन् । यसले पिसाब दूधजस्तो देखिने, फिँजजस्तो देखिने हुन्छ । यो प्रायः हल्का र केही समयका लागि मात्रै हुन्छ ।
पिसाबको संक्रमण (यूटीआई)
पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो । पिसाबको संक्रमणका कारणले पनि पिसाबमा फिँज देखिने समस्या हुन्छ । पिसाब संक्रमणका सबै अवस्थामा फिँज देखिने भने हुँदैन ।