
मनोविज्ञानमा यो अवस्थालाई 'चयनको विरोधाभास' (Paradox of Choice) भनिन्छ। जसमा तपाईं एकै कुरामा यति धेरै विकल्पहरू पाउनु हुन्छ कि, त्यसमा कुन छानौं भनेर तुलना गर्दा गर्दा सोच्नै गाह्रो हुन्छ, अनि दिमागलाई थकित पार्छ ।

यो कुनै गम्भीर मानसिक रोग होइन । तर, दैनिक जीवनमा निर्णय लिन समस्या र तनाव बढाउन सक्छ । यदि तपाईंको अगाडि धेरै विकल्प छन् भने, निर्णयमा गल्ती हुने सम्भावना बढ्छ। गलत निर्णयको डरले निर्णय लिन ढिलाइ हुनसक्छ ।

यस्तोमा धेरै सोच-विचारपछि गरिएको निर्णयले पनि पूर्ण सन्तुष्टि दिन सक्दैन, किनकि उनीहरुलाई लाग्नसक्छ अर्को विकल्प अझ राम्रो हुन सक्थ्यो ।

धेरैपटक धेरै विकल्पले समयको बर्बादी गर्छ । मानिस हरेक विकल्पको जाँच-परखमा लाग्छ, चाहे त्यो मोबाइल किन्ने होस्, कपडा किन्ने वा अरू केहि ।

धेरै विकल्प हुँदा भ्रम मात्र बढ्दैन, मानिस आफ्नै छनोटमा पनि भरोसा गर्न सक्दैन। उसको आत्मविश्वास डगमगाउँछ र आफूमाथि विश्वास कम हुन्छ ।

मानिस बारम्बार सोचिरहन्छ, 'के मैले जुन विकल्प रोजें, त्यो साँच्चिकै ठिक थियो ? उसको दिमागले कहिल्यै विश्राम पाउँदैन र कहिलेकाहीँ अत्यधिक सोच तनावमा परिणत हुन्छ।

'चयनको विरोधाभास' (Paradox of Choice) केवल गम्भीर निर्णयहरूलाई मात्र कठिन बनाउँदैन। यसले स-सानो निर्णयहरूलाई पनि कठिन बनाउँछ।

थोरै विकल्प हुँदा छनोट प्रक्रिया सजिलो हुन्छ र खुशी पनि बढी मिल्छ। गल्तीको डर कम हुन्छ र 'लेस इज मोर' अर्थात् 'जति कम, उति राम्रो' भन्ने सिद्धान्त पनि सही ठहरिन्छ ।