+

के हरेक उमेरका व्यक्तिले दूध पिउनु आवश्यक छ ?

दूध पोषणको उत्कृष्ट स्रोत हो, तर हरेक उमेरमा यसको आवश्यकता फरक–फरक हुन्छ । यदि कसैलाई दूध पचाउन समस्या छ भने जबरजस्ती पिउनु आवश्यक छैन, बरु यसका अन्य विकल्पहरू अपनाउन सकिन्छ ।

दूध वा दुग्धजन्य उत्पादनहरूले क्याल्सियम र भिटामिन डी जस्ता तत्वहरू प्रदान गर्छन्, जसले हड्डीको स्वास्थ्य सुधार्छ र उमेरसँगै आउने समस्याहरूबाट बचाउँछ । तर, दूधलाई अनिवार्य नमान्दा पनि सन्तुलित आहारबाट यी तत्वहरू प्राप्त गर्न सकिन्छ ।

Advertisement

बच्चाहरूका लागि दूध

बच्चाहरूका लागि दूध आवश्यक छ किनभने यसमा भएको क्याल्सियम र प्रोटिनले उनीहरूको वृद्धि, हड्डीको बलियोपन र दिमागी विकासमा सहयोग गर्छ ।

यसले उनीहरूको रोग प्रतिरोधक क्षमतालाई पनि समर्थन गर्छ र उचाइसँगै हड्डीको विकासमा सहयोगी हुन्छ । तर, १ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई गाईको दूध दिनु हुँदैन, किनकि यसले आइरनको कमी निम्त्याउन सक्छ ।

किशोरावस्थामा दूध

किशोरावस्थामा शरीरमा तीव्र परिवर्तन हुन्छ । यो समयमा हड्डीको घनत्व बलियो बनाउनु अत्यन्त आवश्यक हुन्छ ताकि भविष्यमा ओस्टियोपोरोसिस जस्ता रोगहरूबाट बच्न सकियोस् ।

विशेषगरी किशोरीहरूका लागि किशोरावस्थामा दूधको सेवन गर्नु आवश्यक छ, किनभने रजोनिवृत्तिपछि क्याल्सियमको कमीले हड्डीहरू कमजोर हुन्छन् । यदि किशोरावस्थादेखि नै दूध पिउने बानी छ भने, भविष्यमा शरीर बलियो रहन्छ ।

वयस्क अवस्थामा दूध

वयस्क अवस्थामा दूध आवश्यक त छ, तर अनिवार्य भने होइन । यो उमेरमा यदि सन्तुलित आहार लिइरहेको छ, जसमा हरियो सागसब्जी जस्तै ब्रोकली, पालुङ्गो दाल, दही, तिल, सोयाबिन, बादाम र तोफु लगाउत छन् भने दूध नपिउँदा पनि पोषणको कमी हुँदैन ।

धेरै वयस्कहरूले दूधलाई आवश्यक नमान्दा पनि अन्य स्रोतहरूबाट क्याल्सियम र प्रोटिन प्राप्त गर्न सक्छन्, तर अत्यधिक दूधले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

वयस्कहरूका लागि दैनिक २–३ कप दूध पर्याप्त हुन सक्छ, तर यदि पूर्ण शाकाहारी आहार हो भने सोया मिल्क जस्ता विकल्पहरू राम्रा हुन्छन्, जसमा प्रोटिन र क्याल्सियम उत्तिकै हुन्छ ।

वृद्धवृद्धाका लागि दूध

वृद्धवृद्धाहरूले दिनमा एक गिलास दूध पिए क्याल्सियम र भिटामिन डीको कमी पूरा गर्छ र निद्रा पनि राम्रो हुन्छ । वृद्धावस्थामा मांसपेशीको स्वास्थ्य र हड्डीको बलियोपनका लागि दुग्ध उत्पादनहरू फाइदाजनक हुन्छन्, जसले ओस्टियोपोरोसिस र मांसपेशी कमजोरीबाट बचाउँछ ।

तर, अमेरिकी पोषण दिशानिर्देशहरूका अनुसार वृद्धहरूले पनि दूधलाई अनिवार्य नमान्दा अन्य स्रोतहरूबाट पोषण लिन सक्छन्, विशेष गरी यदि दूधको सेवनले समस्या निम्त्याउछ भने ।