मेस्सीका ट्याटो किन चर्चित छन् ?
लियोनेल मेस्सीका ट्याटो केवल शरीर सजाउने माध्यम होइनन् । उनका अधिकांश ट्याटो परिवार, विश्वास, फुटबल र जीवनका महत्वपूर्ण क्षणसँग जोडिएका छन् ।
वर्षौंको अन्तरालमा उनले विभिन्न ट्याटो थप्दै गए, जसले उनको व्यक्तिगत यात्रा र सफलताका पछाडिका भावनाहरूलाई चित्रित गर्छन् । त्यसैले, उनका ट्याटो संसारभरका समर्थकका लागि विशेष चासोको विषय बनेका छन् ।
बायाँ काँधमा आमाको ट्याटो
मेस्सीको सबैभन्दा चर्चित ट्याटोमध्ये एक उनकी आमा सेलिया मारिया कुचित्तिनीको चित्र हो । यो ट्याटो उनको बायाँ काँधमा छ । बाल्यकालदेखि फुटबल यात्रामा आमाले दिएको साथ र त्यागप्रति सम्मान व्यक्त गर्न उनले यो ट्याटो बनाएका हुन् ।
तीनै छोराका नाम र सम्झना
मेस्सीका शरीरमा उनका तीन छोरा, थियागो, मातेओ र सिरोसँग सम्बन्धित ट्याटो छन् । थियागोको नाम र हातको छाप उनको खुट्टामा देखिन्छ । पछि मातेओ र सिरोका नाम पनि थपिए ।
यी ट्याटोले मेस्सीका लागि परिवार कति महत्वपूर्ण छ भन्ने देखाउँछन् । फुटबलभन्दा बाहिर उनको संसार परिवारमै केन्द्रित छ ।
एन्टोनेलासँग मिल्ने मुकुट
मेस्सी र उनकी पत्नी एन्टोनेला रोकुज्जो दुवैसँग मुकुट (क्राउन) ट्याटो छ । समर्थक र ट्याटो विश्लेषकहरूले यसलाई उनीहरूको सम्बन्ध र प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गर्छन् ।
यद्यपि यसको अर्थबारे दुवैले विस्तृत सार्वजनिक व्याख्या गरेका छैनन् । यो भने उनीहरूका सबैभन्दा चर्चित ‘म्याचिङ ट्याटो’ मध्ये एक हो ।
धार्मिक विश्वासका प्रतीक
मेस्सीको दाहिने हातमा येशू ख्रीष्टको अनुहार, चर्चको झ्यालबाट प्रेरित डिजाइन र प्रार्थना गर्ने हातका ट्याटो छन् । यी ट्याटोहरू उनको क्याथोलिक धार्मिक विश्वाससँग जोडिएका मानिन्छन् ।
फुटबलको व्यस्त जीवनबीच पनि आफ्नो आस्थालाई महत्व दिने मेस्सीका लागि यी डिजाइनहरू व्यक्तिगत पहिचानको महत्वपूर्ण हिस्सा बनेका छन् ।
घडी, गुलाब र समयको कथा
मेस्सीको दाहिने हातमा गुलाब, गियर र ठूलो घडीको ट्याटो देखिन्छ । उनले सार्वजनिक रूपमा यसको अर्थ विस्तृत रूपमा बताएका छैनन् । तर ट्याटो कलामा घडीलाई समय र जीवनयात्राको प्रतीक तथा गुलाबलाई सौन्दर्य र प्रेमको प्रतीक मानिन्छ ।
ट्याटुमा कैद प्रेम: श्रीमतीको आँखा
मेस्सीको दाहिने हातमा रहेको आँखाको ट्याटु उनकी पत्नी एन्टोनेला रोकुज्जोको आँखाबाट प्रेरित हो। उनले यो ट्याटु प्रेम, समर्पण र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा बनाएका हुन् । मेस्सीका लागि परिवार सबैभन्दा ठूलो शक्ति भएकाले यो ट्याटु विशेष मानिन्छ ।
नम्बर १० र फुटबलप्रतिको प्रेम
मेस्सीको बायाँ खुट्टामा प्रसिद्ध नम्बर १०, फुटबल र अन्य खेलसम्बन्धी डिजाइनहरू छन् । नम्बर १० उनको करियरको पहिचान बनेको छ ।