
आज प्रणय साताको सुरुवातको पहिलो दिन हो। यस दिन, प्रेमी, साथीभाइ र आफन्तहरूले आफ्नो स्नेह र भावना व्यक्त गर्न गुलाफको फूल दिन्छन्।

गुलाफ दिवस केवल प्रेमीहरूको लागि मात्र होइन, मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि हो। निकट व्यक्तिलाई विशेष भएको भान गराएर सम्बन्धलाई बलियो बनाउन यो दिन मनाइने चलन छ ।

'रोज डे' कहिलेबाट सुरु गरियो ?
रोज डेको उत्पत्तिको बारेमा कुनै आधिकारिक जानकारी छैन। तर यो युरोपमा मध्ययुगीन प्रेम परम्परासँग जोडिएको छ। त्यतिबेला त्यहाँ प्रेमीले फूल र प्रेमपत्रमार्फत आफ्नो प्रेम व्यक्त गर्थे। बिस्तारै यो परम्परा पश्चिमी देशहरूमा भ्यालेन्टाइन सप्ताहमा विकसित भयो।

कसरी मनाउन थालियो ?
रोमन राजा क्लाउडियस द्वितीय (तेस्रो शताब्दी) को शासनकालमा सेन्ट भ्यालेन्टाइनले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न लडेको मानिन्छ। यसै कारणले गर्दा उनलाई सजाय दिइयो, तर उनको प्रेम र बलिदानको सम्झनामा भ्यालेन्टाइन सप्ताह मनाउन थालियो, जसमा पहिलो दिन ‘रोज डे’ पर्छ।