दसैं भर्खरै सकिएको छ । यो समयमा हरेक दिन मिठामसिना परिकार, मासु र चिल्लो खानेकुरा धेरै खाँदा पेट ढुस्स हुने समस्या हुन सक्छ । पेटमा ग्यास जम्नु, अपच र कब्जियत पनि यसका प्रमुख कारण हुन् ।
आवश्यकताभन्दा बढी खाना
एकैपटक धेरै खाना खाँदा पेट फैलिन सक्छ र असहजता बढ्न सक्छ । त्यसैले भोक र आफ्नो आवश्यकताअनुसार ठिक्क मात्रामा खाने, खाना राम्ररी चपाउने र हतार नगर्ने बानी बसाल्नुपर्छ ।
धेरै चिल्लो र मसलेदार खाना
धेरै चिल्लो खानेकुराले पाचन प्रक्रिया सुस्त बनाउन सक्छ । यसले पेट भरिएको महसुस हुने र फुल्ने समस्या बढाउन सक्छ । यस्तो समस्या हुने व्यक्तिले चिल्लो र मसलेदार खाना कम गर्नु राम्रो हुन्छ ।
ग्यासयुक्त पेय पदार्थ
सोडा तथा अन्य ग्यासयुक्त पेय पदार्थले पाचन प्रणालीमा ग्यास बढाउन सक्छन् । पेट फुल्ने समस्या भइरहन्छ भने यस्ता पेय पदार्थ कम गर्ने र पानीलाई प्राथमिकता दिने गर्नुपर्छ ।
खानपानमा सुधार
नियमित समयमा खाना खाने, पर्याप्त पानी पिउने र सागसब्जी, फलफूल तथा फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ । तर फाइबर एकैपटक धेरै बढाउँदा ग्यास बढ्न सक्ने भएकाले बिस्तारै बढाउनु राम्रो हुन्छ ।