+

विश्वकप अपडेट : कतारको कीर्तिमान, मोरक्कोले रोक्यो ब्राजिललाई

विश्वकपको तेस्रो दिन रोमाञ्चक

फिफा विश्वकप २०२६ को तेस्रो दिन अप्रत्याशित नतिजाले भरियो । कतारले इतिहासमै पहिलो पटक विश्वकपमा अंक जोड्दा मोरक्कोले पाँच पटकको च्याम्पियन ब्राजिललाई बराबरीमा रोक्यो । स्कटल्यान्ड र अस्ट्रेलियाले जित निकाल्दै अभियान सुखद बनाए ।

स्विट्जरल्यान्डका मिरोको आत्मघाती गोल

स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरी खेल्दै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक प्राप्त गर्‍यो । १७औँ मिनेटमा ब्रिल एम्बोलोको पेनाल्टी गोलबाट पछि परेको कतारले इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल फर्कायो । कप्तान बुआलेम खौखीको हेडर स्विस डिफेन्डर मिरो मुहेइमलाई लागेर आत्माघाती गोलमा परिणत भएपछि कतारले ऐतिहासिक एक अंक सुरक्षित गर्‍यो ।

Advertisement

जित नजिक पुगेर चुक्यो स्विट्जरल्यान्ड

ब्रिल एम्बोलोको पेनाल्टी गोलबाट अग्रता लिएको स्विट्जरल्यान्ड जितको निकै नजिक पुगेको थियो । तर कतारका गोलरक्षक महमुद अबुनादाको उत्कृष्ट प्रदर्शन र अन्तिम मिनेटको बराबरी गोलका कारण स्विस टोलीले तीन अंक गुमायो ।

मोरक्कोले ब्राजिललाई रोक्यो

नेमारविना मैदान उत्रिएको ब्राजिलले पहिलो खेलमै कठिन चुनौती सामना गर्‍यो । इस्माइल साबारीको गोलबाट मोरक्कोले अग्रता लिएपछि भिनिसियस जुनियरले शानदार गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।

स्कटल्यान्डको विजयी सुरुआत

ग्रुप ‘सी’ मा स्कटल्यान्डले हाइटीलाई १–० ले हराउँदै तीन अंक जोड्यो । जोन म्याकगिनले २८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।

अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाले तुर्कियेमाथि २–० को सहज जित निकाल्यो । नेस्टोरी इरानकुन्डाले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए भने कोनर मेटकाल्फले दोस्रो हाफमा अर्को गोल थपे । प्रभावशाली प्रदर्शनसँगै अस्ट्रेलियाले प्रतियोगितामा बलियो सन्देश दिएको छ ।

आजका खेलमा कसको परीक्षा ?

विश्वकपको चौथो दिन चार रोमाञ्चक खेल हुँदैछन् । नेदरल्यान्ड्स–जापान, आइभरी कोस्ट–इक्वेडर, स्विडेन–ट्युनिसिया र स्पेन–केप भर्डेबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणको प्रारम्भिक अवस्थामा यी खेलले धेरै टोलीको भविष्य निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् ।