+

के हुन्छ, जब हामी चुरोट छाड्छौं ?

जब चुरोट खान छाडिन्छ, शरीरले तुरुन्तै मर्मत र पुर्ननिर्माणको प्रक्रिया सुरु गर्छ । चुरोट छाडेको ६ महिनामा शरीरमा उल्लेखनीय परिवर्तनहरू देखिन्छन्।

चुरोटको प्रभाव र छाड्ने प्रक्रिया

चुरोटमा निकोटिन, टार, कार्बन मोनोअक्साइड र हजारौं हानिकारक रसायनले शरीरका विभिन्न अंगहरूलाई हानि पुर्‍याउँछन् । चुरोट छाड्दा शरीरले यी विषाक्त पदार्थहरू हट्दै गइ रक्तसञ्चार, फोक्सोको कार्यक्षमता र रोगप्रतिरोधी प्रणालीमा सुधार आउन थाल्छ ।

Advertisement

रक्तसञ्चार र मुटुको स्वास्थ्यमा सुधार

चुरोटको धुँवाले रक्तनलीहरूलाई साँघुरो बनाउँछ र रक्तचाप बढाउँछ, जसले हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ । चुरोट छाडेको २४ घण्टाभित्रै कार्बन मोनोअक्साइडको स्तर घट्छ र रगतमा अक्सिजनको मात्रा बढ्छ ।

फोक्सोको कार्यक्षमतामा सुधार

चुरोटले फोक्सोको सिलियालाई हानि पुर्‍याउँछ, जसले फोक्सोलाई सफा राख्ने प्रक्रियालाई बाधा पुर्‍याउँछ। चुरोट छाडेको १-३ महिनाभित्र फोक्सोको सिलियाले आफूलाई मर्मत गर्न थाल्ने, ६ महिनाभित्र, फोक्सोको कार्यक्षमता १० देखि ३० प्रतिशतले सुध्रिन्छ ।

रगतमा निकोटिन र विषाक्त पदार्थहरूको कमी

चुरोट छाडेको ४८ घण्टाभित्र रगतमा निकोटिन र अन्य रसायनहरूको स्तर शून्यमा झर्छ । ६ महिनाभित्र शरीरले धेरैजसो हानिकारक रसायनहरू हटाउँछ, जसले रक्तको गुणस्तर सुधार्छ ।

छालाको स्वास्थ्यमा सुधार

चुरोटले छालामा रक्तसञ्चार कम गर्छ, जसले चाउरीपन र सुख्खापन निम्त्याउँछ। चुरोट छाडेपछि ३ देखि ६ महिनाभित्र छालाको रङ र लचिलोपनमा सुधार हुन्छ। रक्तसञ्चार बढ्दा छाला चम्किलो हुन्छ, र चुरोटले निम्त्याउने रातोपन र कालो धब्बाहरू कम हुन्छन्।

दाँत र मुखको स्वास्थ्यमा सुधार

चुरोटले दाँत पँहेलो हुने समस्या हुन्छ । गिजामा रक्तसञ्चार कम हुने र मुखको क्यान्सरको जोखिम बढाउँछ । चुरोट छाडेपछि ३ देखि ६ महिनाभित्र गिजाको स्वास्थ्यमा सुधार हुने र दाँतको पहेंलोपन कम हुन्छ ।

निकोटिनको लतबाट मुक्ति

निकोटिन एक शक्तिशाली लतकारी पदार्थ हो, जसले मस्तिष्कको डोपामाइन स्तरलाई प्रभावित गर्छ। चुरोट छाडेको एक-दुई महिनाभित्रै यसको असर कम हुँदै जाने र तलतल हट्दै जान्छ ।

निद्राको गुणस्तरमा सुधार

चुरोटले निद्राको चक्रलाई बिगार्छ, जसले अनिद्रा र बेचैनी निम्त्याउँछ। स्लीप मेडिसिनमा २०१८ मा प्रकाशित अनुसन्धानको एक रिपोर्टमा उल्लेख गरिएअनुसार चुरोट छाडेपछि २ देखि ३ महिनाभित्र निद्रा गहिरो र ताजा हुन्छ । ६ महिनाभित्र, व्यक्तिहरूले दिनभर ताजापन र ऊर्जा अनुभव गर्छन् ।