
कम्मरको दुखाइ कम्मरमा मात्र सीमित नरहेर पुट्ठा, तिघ्रा हुँदै खुट्टासम्म पुग्छ । कहिले पोलेको त कहिले सियोले घोचेको जस्तो अनुभव हुन्छ भने सायटिका भएको हुनसक्छ ।

सायटिका एक प्रकारको स्नायु हो, जो मेरुदण्डको हड्डीदेखि लिएर कम्मर हुँदै खुट्टा र पैतालासम्म पुग्ने सबैभन्दा लामो र मोटो स्नायु हो ।

किन हुन्छ ?
मेरुदण्डका हड्डीबीचको ग्याप कम भएर नसालाई थिचियो भने मोटर फंक्सनमा पनि अवरोध हुन्छ । जसकारण खुट्टा चलाउन नसक्ने हुनसक्छ ।

सायटिकाको सबैभन्दा सामान्य कारण मेरुदण्डको डिस्क हर्नियेशन हो, जहाँ डिस्क बाहिर निस्केर सायटिक नर्भमा दबाब दिन्छ। भारी वस्तु उठाउने, गलत तरिकाले व्यायाम गर्ने वा चोटपटकका कारण हुन्छ।

यो स्नायु खुट्टासम्म पुगेको सो नसाको बाटोमा थोरै दबाब, नसा प्रवाह हुने भाग साँघुरिएको, त्यसमा जोडिएको हड्डी खिइएको छ भने सेन्सरी कार्यमा अवरोध गरीदुखाइको अनुभव हुन्छ ।

मोटोपन, बढ्दो उमेर, शारीरिक निष्क्रिय, गर्भावस्था, क्याल्सियम, भिटामिन डीको अभाव पनि यसको जोखिम कारकमा पर्छन् ।

सायटिकाको लक्षण
तल्लो ढाड, कम्मर वा नितम्बमा दुखाइ, खुट्टा वा पिँडुलामा दुखाइ वा झनझन, कम्मरबाट सुरु भएर तिघ्रा, पिँडुला हुँदै पैतालासम्म दुखाइ पुग्न सक्छ।

लामो समयसम्म बस्दा, उभिँदा, खोक्दा वा हाछ्युँ गर्दा दुखाइ बढ्न सक्छ। दुखाइका कारण हिँड्न वा शरीरको स्थिति परिवर्तन गर्न गाह्रो हुन सक्छ।

उपचार
फिजियोथेरापी, मध्यम खालको कसरत, दुखाइ भएको भागमा आइस वा हट ब्यागले दैनिक २० मिनेट जति पटक-पटक सेक्दा ठीक हुनसक्छ ।

भिटामिन र क्याल्सियमको कमीले हो भने सप्लिमेन्ट र नदुख्ने औषधिबाट निको पार्न सकिन्छ । तर यो औषधि खानुअघि चिकित्सकको परामर्श र सिफारिस अनिवार्य हुनुपर्छ ।