+

असल र सक्षम नेतृत्व कस्तो हुनुपर्छ ? यी हुन् १० गुण

धैर्यशील

असल नेतृत्वमा धैर्यता सबैभन्दा ठूलो गुण हो । कठिन परिस्थितिमा पनि शान्त रहने, हतारमा निर्णय नलिने र टिमलाई भरोसा दिलाउने क्षमता चाहिन्छ । छोटो सफलताको लोभमा नपरी दीर्घकालीन सोच राख्ने, चुनौतीलाई धैर्यतापूर्वक पार गर्ने नेताले मात्र स्थिर र विश्वसनीय नेतृत्व दिन सक्छ ।

निर्णय गर्न सक्ने

सक्षम नेताले सही समयमा स्पष्ट निर्णय लिन सक्नुपर्छ। समस्या देख्नासाथ उपाय निकाल्ने, अरूको मत सुनेर पनि बहुसंख्यकको हितमा निर्णय गर्ने क्षमता हुन्छ । हिचकिचाउने वा डराउने होइन, गल्ती भए स्वीकार गरी सिक्न सकिन्छ । समयमै निर्णय नगर्दा सफलता गुम्न सक्छ, त्यसैले यो गुण अनिवार्य छ ।

Advertisement

पूर्वाग्रह नराख्ने

नेतृत्वमा सबैलाई समान व्यवहार गर्नुपर्छ। चाकरी वा व्यक्तिगत मनपर्ने आधारमा होइन, इमानदारी र योग्यताको आधारमा सम्मान दिने। पूर्वाग्रहले टिममा निराशा र विभेद ल्याउँछ। समान व्यवहारले मात्र विश्वास र एकता कायम रहन्छ। असल नेताले सबैलाई न्यायपूर्ण व्यवहार गर्छ।

लचिलो

अडान राख्नु राम्रो हो तर आवश्यक परे लचक हुन सक्नुपर्छ । गल्ती थाहा भएपछि सच्चिने, अरूको सुझाव सुन्ने र माफी माग्न तयार हुनुपर्छ । कठोरताले संस्थालाई कमजोर बनाउँछ, लचकताले विश्वास जित्छ। लचिलो नेताले टिमको भावना सम्मान गर्छ र क्षति रोक्छ ।

अरूको खुसीमा सामेल हुने

सच्चा नेताले सहकर्मीको सफलतामा ईर्ष्या गर्दैन, बरु रमाउँछ र हौसला दिन्छ । अरूको खुसीमा सामेल हुने बानीले टिममा सद्भाव र विश्वास बढ्छ । सबैको सफलता आफ्नै ठान्ने नेताले मात्र दीर्घकालीन सहयोग र समर्थन प्राप्त गर्छ। यो गुणले टिमलाई एकजुट बनाउँछ ।

सम्बन्ध बनाउने खुबी भएको

नेतृत्वमा राम्रो सम्बन्ध निर्माण अनिवार्य छ। व्यावसायिक मात्र होइन, भावनात्मक सम्बन्ध जोड्न सक्नुपर्छ। राम्रो संवाद, विश्वास र सहानुभूतिले संकटमा साथ मिल्छ । सम्बन्धबिना काम लिन गाह्रो हुन्छ । असल नेताले व्यक्तिगत र संस्थागत दुवै स्तरमा सम्बन्ध बलियो बनाउँछ।

सकारात्मक सोच भएको

सकारात्मक सोच भएको नेताले हरेक अवस्थामा आशा र हौसला दिन्छ। निराशा फैलाउने होइन, समाधान खोज्ने हुनुपर्छ । खराब समयमा पनि सही दृष्टिकोण राखेर टिमलाई प्रेरित गर्छ । यो गुणले टिमको मनोबल उच्च राख्छ र जिततर्फ डोर्‍याउँछ। सकारात्मकता नै सफल नेतृत्वको आधार हो ।

असल आचरण भएको

नेतृत्वमा असल आचरण र आदर्श आवश्यक छ । आफूले जे सिकाउँछु, त्यही जीवनमा लागू गर्ने। बोली, व्यवहार र जीवनशैलीले अरूलाई प्रेरित गर्ने। आचरण कमजोर भए टिममा गलत सन्देश जान्छ। असल आचरण भएको नेताले मात्र सम्मान र अनुकरण पाउँछ ।

आलोचनात्मक चेत र विश्लेषण गर्ने क्षमता भएको

हरेक कुरालाई सजिलै विश्वास नगर्ने, गहिरो विश्लेषण गर्ने हुनुपर्छ । विश्लेषणशील नेताले मात्र सही निर्णय लिन्छ र संस्थालाई सही दिशा दिन सक्छ। यो गुणले नेतृत्वलाई विश्वसनीय बनाउँछ ।

सिर्जनशील / अध्ययनशील

समयअनुसार चल्न सक्ने, नयाँ विचार र रणनीति ल्याउने हुनुपर्छ । प्रविधि र परिवर्तनसँग तालमेल मिलाउने, सधैं सिकिरहने हुनुपर्छ । 'सबै जानें' भन्ने घमण्ड राख्न हुँदैन । सिर्जनशील र अध्ययनशील नेताले मात्र नयाँ चुनौतीको सामना गर्छ र भविष्य जित्छ। यो गुण सफलताको कुञ्जी हो ।