कहिलेकाहीँ तनाव, मन अशान्त हुनु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य हो । तर यस्तो अवस्था लामो समयसम्म रहिरह्यो, दैनिक जीवन प्रभावित हुन थाल्यो र आफूलाई मन पर्ने काममा समेत रुचि हरायो भने मानसिक स्वास्थ्यमा समस्या भएको संकेत हुन सक्छ ।
यी संकेतलाई बेवास्ता नगर्नुहोस्
लामो समयसम्म अत्यधिक चिन्ता, उदासी, निद्रामा परिवर्तन, खानपानमा असामान्यता वा मानिसहरूबाट टाढिँदै जानुलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । पहिले खुसी दिने काममा समेत रुचि हराउँदै जानु र काम, पढाइ वा सम्बन्धमा असर पर्नु पनि महत्वपूर्ण चेतावनीका संकेत हुन् ।
तनाव, डिप्रेसन र एङ्जाइटी एउटै होइन
तनाव प्रायः कुनै विशेष परिस्थिति वा घटनासँग जोडिएको हुन्छ र परिस्थिति सुधारिएसँगै कम हुन सक्छ । तर डिप्रेसन वा एङ्जाइटीले लामो समयसम्म सोच, भावना र दैनिक जीवनमा असर पार्न सक्छ । नियन्त्रण गर्न नसकिने अत्यधिक चिन्ता एङ्जाइटीको संकेत हुन सक्छ ।
मनोवैज्ञानिक कि मनोचिकित्सक ?
मनोवैज्ञानिकले सोच, भावना र व्यवहारसँग जोडिएका समस्यामा परामर्श तथा विभिन्न मनोचिकित्सकीय विधिमार्फत सहयोग गर्छन् । मनोचिकित्सक भने चिकित्सक हुन्, जसले आवश्यकताअनुसार औषधिसहित उपचार गर्न सक्छन् । कतिपय अवस्थामा दुवै विशेषज्ञले मिलेर पनि उपचार गर्छन् ।
सामाजिक सञ्जालले पनि असर गर्न सक्छ
लगातार रिल्स, छोटा भिडियो र विभिन्न सामग्री हेरिरहँदा एकपछि अर्को भावनात्मक अनुभव भइरहन्छ । धेरै सूचना एकैपटक ग्रहण गर्दा ध्यान केन्द्रित गर्न कठिन हुने, दिमागमा धेरै कुरा चलिरहने र ‘ब्रेन फग’ जस्तो अनुभव हुन सक्ने बताइन्छ । त्यसैले सामाजिक सञ्जालको समय सीमित गर्नु उपयोगी हुन्छ ।
मानसिक स्वास्थ्यका लागि दैनिक के गर्ने ?
नियमित हिँडडुल वा व्यायाम, सन्तुलित खाना, पर्याप्त आराम, ध्यान र गहिरो श्वासप्रश्वासको अभ्यास उपयोगी हुन सक्छ । काम र व्यक्तिगत जीवनबीच सीमा बनाउनु पनि आवश्यक छ ।
समस्या लुकाउनु हुँदैन
मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिँदैमा व्यक्ति जीवनभर त्यही अवस्थामा रहँदैन । उपचार र परामर्शबाट सुधार सम्भव हुन्छ । मानसिक स्वास्थ्यमा आएको परिवर्तनले दैनिक जीवन, काम, सम्बन्ध वा आफ्नो हेरचाहमा असर पार्न थाले मानसिक स्वास्थ्य विशेषज्ञसँग समयमै परामर्श लिनु उचित हुन्छ । सहयोग माग्नु कमजोरी होइन ।