कान कराउने समस्यालाई चिकित्सकीय भाषामा ‘टिनाइटिस’ भनिन्छ । यो समस्या हुँदा कानमा अप्राकृतिक आवाज आउँछ । जस्तो कि कानमा घण्टी बजेको जस्तो अनुभव हुनसक्छ ।
त्यो आवाज घण्टी बजेको जस्तो मात्र नभएर कतिपयले कहिलेकाहीं बाघको जस्तो गर्जन, सुकेको पात हल्लिएको जस्तो, सर्पको आवाज, घडीको सुई टिकटिक गरेको जस्तो आवाज आउन सक्छ ।
कान बज्ने कारण
कान बज्ने कारण एउटा मात्र नभई धेरै छ । जसले कान बज्नुको कारण पत्ता लगाउन गाह्रो हुन्छ । कान बज्ने कारणलाई दुई भागमा वर्गीकरण गरिएको छ । एउटा कानभित्रको समस्या र अर्को कान बाहिरको समस्या ।
कानभित्रको समस्या
कानभित्रको समस्या पनि व्यक्ति स्वयंले अनुभव गर्ने र कानको आवाज बिरामी बाहेकको व्यक्तिले पनि सुन्ने गरी दुई प्रकारका हुन्छन् ।
व्यक्ति स्वयंले अनुभव गर्ने
कानमा कानेगुजी भरिएमा, कानको जाली फुटेमा, कान पाकेमा, कानको मध्य भागमा पानी जमेमा, बाहिरी होहल्ला, औद्योगिक आवाजले कानको जालीमा असर गरेमा कान कराउन सक्छ । एन्टीबायोटिक तथा औषधि तथा पेनकिलर औषधिको बढी सेवन गर्दा पनि कान कराउन सक्छ ।
वृद्ध उमेर
७० वर्ष कटे पनि कानको श्रवण शक्ति गुम्न सक्छ । किनकि जति उमेर बूढो हुँदै गयो त्यति दिमाग र कानलाई जोडने नसा कमजोर हुन्छ । कमजोर भएपछि स्वरलाई लैजाने त्यसमा हुने विद्युतीय तरङ्गहरू पहिलेको जस्तो काम गर्न सक्दैनन् ।
अरूले पनि सुन्न सक्ने समस्या
कानको भित्र रहेको रक्तनलीमा खराबी आएमा कान कराउँछ । जुन अरूले पनि सुन्न सक्छन् । कानभित्र रहेको रक्तनलीमा दबाब परेर सुन्निएर ठूलो भयो भने कानबाट आवाज आउन सक्छ । कान हुँदै मस्तिष्कमा पुग्ने नसा ठूलो भएमा रिंगटा लाग्ने र कानबाट आवाज आउन सक्छ ।
कानबाहिरको समस्या
मस्तिष्कमा भएको ट्युमर, रक्तअल्पता, रक्तचाप उच्च वा अति न्यून भएमा, छारेरोग र माइग्रेनको समस्याले पनि कान बज्न सक्छ ।
कति बेला अस्पताल जाने ?
कान कराउने समस्याले दैनिक क्रियाकलापमा असर पर्ने गरी एक दिनभन्दा बढी समय अनुभव गरेमा तुरुन्त चिकित्सकलाई देखाउनु उचित हुन्छ । किनकि, जति छिटो समस्या पहिचान र उपचार भयो त्यति छिटो यो समस्या निको हुन्छ ।