गर्दन दुख्ने समस्या अहिले धेरै बढ्दै गएको छ, विशेषगरी मोबाइल, ल्यापटप र कम्प्युटरको अत्यधिक प्रयोगले मानिसहरू लामो समयसम्म टाउको अगाडि झुकाएर बस्न थालेका छन् ।
यसले गर्दनमा अस्वाभाविक दबाब सिर्जना गर्छ र बिस्तारै दुखाइ सुरु हुन्छ, जुन अहिले सामान्य समस्या जस्तै बनिसकेको छ।
मानिसको टाउको करिब ५ किलो तौलको हुन्छ, जसलाई सीधा अवस्थामा धान्न शरीर बनाइएको हो। तर जब टाउको १५, ३० वा ६० डिग्रीसम्म झुक्छ, गर्दनले १२ देखि ३० किलोसम्म तौल धान्नुपर्छ । यस्तो लगातार दबाबले मेरुदण्ड र मांसपेशीमा गम्भीर असर पार्न थाल्छ ।
लामो समयसम्म गलत पोस्चरमा बस्दा गर्दनका हड्डीबीचका जोर्नीहरू खिइन्छन् र डिस्कमा समस्या आउन सक्छ। यसले नसाहरू च्यापिन सक्छ, जसलाई 'टेक्स्ट नेक सिन्ड्रोम' भनिन्छ । यो समस्या अहिले युवा पुस्तामा समेत तीव्र रूपमा बढ्दै गएको देखिन्छ, जुन चिन्ताजनक अवस्था हो ।
यसका लक्षणहरूमा गर्दन दुख्ने, कुम वा ढाडमा दुखाइ सर्ने, हातमा झमझम हुने वा कमजोरी महसुस हुने पर्छ। गम्भीर अवस्थामा हातखुट्टा कमजोर हुने, हिँड्न गाह्रो हुने वा दिसा-पिसाब नियन्त्रणमा समस्या आउन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
उपचारको सबैभन्दा प्रभावकारी उपाय भनेको सही पोस्चर अपनाउनु हो । बस्दा ढाड सीधा राख्ने, स्क्रिन आँखाको स्तरमा राख्ने र लामो समय झुक्ने बानी हटाउनु आवश्यक हुन्छ । साथै, नियमित रूपमा गर्दन र कुमका व्यायाम तथा फिजियोथेरापीले धेरै बिरामीलाई राहत दिन्छ ।