चकमन्न मध्यरात । प्राणी जगत चिर निद्रामा छ । सूर्य विपरीत ध्रुवमा छ । हावाको चाल सुस्त छ । धेरैका लागि यो ऐठन पार्ने समय पनि हो । तर एउटा फूल आफ्नो बैंसको उत्कर्षमा गइरहेको छ ।
उसले आफ्नो आसपास लठ्ठै पार्ने सुवास सुस्तरी छर्दैछ । जो चाँडै हावामा कतै विलय हुनेवाला छ । सायद आसपासकै अन्य बोटबिरुवाहरूलाई थाहा छैन, ऊ एउटा अनमोल सौन्दर्य जन्माइरहेको छ । भेउ पनि कसरी पाउन्, उनीहरूको चक्र फरक छ । जीवन फरक छ। ऊ एउटा कुनै रहस्यभन्दा कमको छैन ।
ऊ एक रातमै फुल्छ । फुलेको केही घण्टामै कसैको पर्वाह नगरी झरिदिन्छ । त्यो पनि चुपचाप । मानौं, ऊ आफ्नो कुनै क्रिया अरूलाई देखाउनै चाहँदैन । सत्य यो हो कि, ऊ त झरिदिँदा पनि जीवन जन्माइरहेको हुन्छ ।
खासमा झरेपछि नै उसको नयाँ अवतार तयार हुन्छ । लाग्छ, शान्त र अन्धकार रातमा उसको स्पर्श गर्न जमिन पनि वर्षौंदेखि तयार छ । त्यसैले त उसको स्वागतमा जमिनले शीतलाई रोकेर राक्छ ।
त्यसबखत सूर्य बिहानीको प्रहरभन्दा टाढै हुन्छ । सूर्य पूर्वी क्षितिजमा उदाइसक्दा त ऊ बोटबाट जमिनमा बसाईं सरिसकेको हुन्छ । त्यो बखत हुने पुष्प वर्षात, जो संसारकै दुर्लभ दृश्य जस्तै हुन्छ । जसलाई कुनै स्वैरकाल्पनिक क्षण भन्दा फरक पर्नेवाला छैन । त्यसपछि पुष्पले छपक्कै पार्ने जमिन, फैलिएको मोहनी सुगन्ध– कुनै प्रेमिल मिलन भन्दा भिन्न हुँदैन ।
यसरी जन्मन्छ, सेतो र सन्तुलित सुन्तला रङको एउटा फूल । जुन सुन्दर, मनमोहक छ । सुगन्धित र चित्ताकर्षक छ । सांस्कृतिक र धार्मिक महत्वको छ । जसमाथि विभिन्न कथाहरू बुनिएका छन् । साहित्य सिर्जना गरिएका छन् । जसलाई धेरै उपमा दिइएको छ । रूप, रहस्य र सुगन्धका कारण चर्चा गरिएको छ । नाम हो- पारिजात ।
प्रेम पाएको वनस्पति, रातकी रानी जस्ता नामले बोलाइने पारिजातलाई कुल्चन हुन्न भनिन्छ । बोटबाट सोझै टिप्न हुन्न भनेर सुझाइन्छ । अन्य फुलहरू सोझै बोटबाट टिपिँदा पारिजात मात्र यस्तो फूल हो, जसलाई झरेपछि मात्र टिपेर मन्दिरमा चढाइन्छ । जुन आफैंमा सांस्कृतिक विरोधाभास हो ।
कथनहरू र कथाहरू
कथनहरू अनुसार पारिजात देवताहरूको प्रिय फूल हो । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले पारिजात सम्बन्धी तीन कथा सुनाएका छन्:
कथा १: कृष्ण, सत्यभामा र रुक्मिणी
कृष्णका दुई प्रेमिका सत्यभामा र रुक्मिणीलाई पारिजात असाध्यै मन पर्थ्यो । तीमध्ये सत्यभामाले कृष्णलाई आफ्नो बगैँचामा यो फूल ल्याइदिन आग्रह गरिन् । कृष्ण स्वर्गमा गएर अनेक किसिमले कुराकानी गरेर पारिजातको फूल लिएर आए । र, त्यो फूल सत्यभामाको बगैँचामा रोपिदिए । तर, अर्की प्रेमिका रुक्मिणीले आफूले फूल किन पाइन भनेर गुनासो गरिन् । तब कृष्णले त्यो फूललाई दुवै प्रेमिकाको बगैँचाको सिमाना रोपिदिए । पारिजातको फूल राति फुल्छ र बिहानैपख झर्छ । यही विशेषताका कारण कृष्णले यसरी रोपेका थिए कि फूल झर्दाखेरि दुवै (सत्यभामा र रुक्मिणी) को बगैँचामा झरोस् ।
कथा २: राजकुमारी र सूर्य
एउटी राजकुमारी थिइन् । उनको सूर्यसँग प्रेम बस्यो । तर, पछि सूर्यले उनलाई धोका दिए । त्यसबाट राजकुमारी एकदमै दुःखी भइन् । प्राण नै त्याग गरिन् । उनको शरीरबाट (कसैले शरीरको खरानीबाट पनि भनेका छन्) पारिजातको बोट उमारे । त्यसकारण सूर्यको अनुहार हेर्न नपरोस् भनेर पारिजात सूर्य उदाउनु भन्दाअघि नै झर्छ ।
कथा ३: इन्द्र र इन्द्र जात्रा
इन्द्रकी आमालाई पारिजातको फूल साह्रै मनपर्थ्यो । त्यो फूल उनलाई जसरी पनि चाहियो । त्यसपछि पारिजातको फूल खोज्दै काठमाडौं उपत्यकामा इन्द्र आए । भेट्टाए र फूल टिप्न लागे । तर, स्थानीय मानिसहरूले इन्द्रलाई चोर ठानेर समाते । उनीहरूले इन्द्रलाई हातखुट्टा बाँधेर इन्द्र चोकमा राखेर जात्रा गरे । त्यसैबाट इन्द्र जात्रा सुरु भयो।
वैज्ञानिक पक्ष
काठमाडौं विश्वविद्यालयका कृषि विभागका सहायक प्राध्यापक डा. नवल श्रेष्ठका अनुसार पारिजातलाई नेपाल र भारतमा पवित्र फूलका रूपमा चिनिन्छ । यो निशाचर वनस्पति हो । अर्थात् यसको परागसेचन र फुल्ने काम सबै रातमा मात्र हुने गर्छ ।
पारिजातले रातमा सक्रिय हुने कीराहरूलाई आकर्षित गर्न फुल्ने र त्यसैबाट परागसेचन प्रक्रिया हुने डा. श्रेष्ठको भनाइ छ । पारिजातको सुगन्ध रातमा एकदमै कडा हुन्छ । तर बिहान घाम लाग्नेबित्तिकै यसको सुगन्ध कम हुँदै जान्छ । र, फूल बोटबाट झरिहाल्छ। पारिजातको ठूलो रुख हुँदैन । पारिजातको बोट १ देखि डेढ/दुई मिटरसम्म मात्र अग्लो हुन सक्छ । यो मुख्यतः तराई तथा पहाडी भेगमा बढी पाइन्छ ।
पारिजातमा पनि धेरै जात हुन्छन् । ती सबैबाट मिठो बासना आउँछ । तर यसको पात अन्य बोटविरुवाको भन्दा एकदमै खस्रो हुन्छ । यसरी खस्रो हुनुको कारण यो वृक्षलाई कीरा-फट्यांग्राले नखाऊन् भन्ने हो । यो मुख्यत: शरद ऋतुमा नै फुल्ने गर्छ ।
साहित्यमा पारिजात
त्यस्तै नेपाली साहित्यमा ‘पारिजात’ प्रसिद्ध लेखिका हुन् । उनले वास्तविक नाम विष्णु कुमारी वाइबा हो तर उनलाई पारिजातकै नामले चिनिन्छ । उनको जीवनी 'सुश्री पारिजात'का लेखक गोविन्द गिरी 'प्रेरणा'का अनुसार पारिजात फूलको विशेषता मन परेका कारणले नै विष्णु कुमारी वाइबाले आफ्नो नाम ‘पारिजात’ राखेकी थिइन् ।
यसरी पारिजात फूल धर्म, संस्कार, साहित्य सबैमा जोडिएको छ । यो साँच्चै प्रेमिल फूल हो ।